मस्का दाजूभाइ भए भारी, नेपाल इटालीसँग १० विकेटले पराजित
काठमाडौं । जारी टी-२० विश्वकपमा इटालीले नेपाललाई १० विकेटले पराजित गरेको छ। १ सय २४ रनको सामान्य लक्ष्य पछ्याएको इटालीले १२ दशमलव ४ ओभरमा बिना कुनै विकेट लक्ष्य भेटायो।
इटालीले मुम्बईको वानखेडेमा चौका र छक्काको वर्षात् गर्यो। इटालीका लागि ओपनिङ गर्न आएका मस्का दाजुभाई नेपालका सबै बलरमाथि भारी भए। उनीहरुले खेलको १२ ओभर नसकिदै इटालीलाई जित दिलाए।
इटालीका लागि मस्का दाजुभाईले आक्रामक ब्याटिङ गरे। उनीहरु दुवैजनाले नेपाल विरुद्द अर्धशतक बनाए। एन्थनी मस्का ३२ बलमा ३ चौका र ६ छक्का सहित ६२ रनमा अविजित रहदा जस्टिन मस्का ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६० रनमा अविजित रहे।
यसअघि मुम्बईको वानखेडे क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमध्ये १९.३ मा सबै विकेट विकेट गुमाएर १ सय २३ रन जोड्न सफल भएको थियो ।
नेपालका लागि आरीफ शेखले २४ बलमा ३ चौका प्रहार गर्दै सर्वाधिक २७ रन बनाए। त्यस्तै, कप्तान रोहित कुमार पौडेलले २३, आसिफ शेखले २० र उपकप्तान दिपेन्द्र सिंह ऐरीले १७ रन जोड्न सफल रहे।
आठौ नम्बरमा ब्याटिङ गर्न आएका करन केसीले नेपालका लागि १८ रन बनाए।
नेपाललाई १ सय २३ रनको निम्न योगफलमा समेट्न इटालीको लागि क्रिशन कलुगामागेले किफायती बलिङ गर्दै ४ ओभरमा मात्रै १८ रन खर्चेर ३ विकेट लिए। त्यस्तै, बेन मानेन्तीले पनि निकै किफायती बलिङ गरे। उनले ४ ओभरमा मात्रै ९ रन खर्चेर २ विकेट लिन सफल भए।
अली हसन, जसप्रीत सिंह र जेजे स्मुट्सले इटालीका लागि समान १/१ विकेट लिए।
