राष्ट्रिय सहमति बिना निर्वाचन उपयुक्त हुँदैन : पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियाे)
काठमाडौँ । ज्ञानेन्द्र शाह ले देशको अस्मिता र अस्तित्व नै संकटमा परेको अनुभूति भइरहेको उल्लेख गर्दै राष्ट्रिय सहमति र एकताविना निर्वाचन प्रक्रियातर्फ जानु उपयुक्त नहुने बताएका छन् ।
सम्बोधनका क्रममा उनले वर्तमान परिस्थितिलाई असामान्य र संवेदनशील भएको उल्लेख गर्दै पहिले राष्ट्रिय समस्याहरूको समाधान खोज्नुपर्ने धारणा राखे ।
‘देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेका छन्,’ उनले भने, ‘पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचन प्रक्रियातर्फ जानु उचित हुन्छ। निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने सुनिश्चित गर्न राष्ट्रिय सहमति आवश्यक छ।’
उनले नेपालको वास्तविक शत्रु विपन्नता र अस्थिरता भएको उल्लेख गर्दै आपसी विभाजनले समस्या झन् गहिरो बनाएको टिप्पणी गरे । ‘हाम्रो शत्रु विपन्नता र अस्थिरता हो, तर एउटा नेपालीले अर्को नेपालीलाई बैरी ठान्ने संस्कृतिलाई हामीले बढावा दिएका छौँ,’ उनले भने, ‘यसले देशलाई इतिहासकै गहिरो र दर्दनाक स्थितिमा पुर्याएको छ।’
प्रजातन्त्र स्थापनाको ७५ वर्ष पूरा भएको अवसर स्मरण गर्दै उनले राष्ट्रपिता त्रिभुवन प्रति श्रद्धाञ्जली अर्पण गरे । ‘जनता र राजाको संयुक्त प्रयत्नबाट प्रजातन्त्रको मिर्मिरे घाम उदाएको दिवस हामी सबैका लागि स्मरणीय छ,’ उनले भने, ‘ प्रजातन्त्रका लागि जीवन अर्पण गर्ने ज्ञात-अज्ञात सहिदहरूप्रति श्रद्धा व्यक्त गर्दछु।’
केही महिनाको झापा बसाइपछि राजधानी फर्किने क्रममा सर्वसाधारणले देखाएको सद्भावप्रति आभार व्यक्त गर्दै उनले भने, ‘मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको बेला देखाइएको प्रेम र सद्भावले हामीलाई अटुट दायित्वबोध गराएको छ।’
सम्बोधनको अन्त्यमा उनले राष्ट्रिय एकता, संवाद र समझदारीमार्फत मुलुकलाई स्थिरता र समृद्धिको मार्गमा अघि बढाउनुपर्नेमा जोड दिए । ‘सिंगो मुलुक अस्वाभाविक छटपटीमा छ,’ उनले भने, ‘यस अवस्थाबाट बाहिर निस्कन सबै नेपाली एकताबद्ध हुन आवश्यक छ।’
