`

रौतहटको सवगडामा फेरि तनाव, दुई समुदायबीच बिहानै ढुंगा हानाहान

Nepal One HD ९ फागुन २०८२ ११:४३
अपराध

काठमाडौं । रौतहटको गौर नगरपालिकाको सवगढा फेरि तनावग्रस्त भएको छ । यसअघि शुक्रबार पनि तनाव उत्पन्न भएको थियो ।

सवगढामा बिहेको जन्ती जाँदा दुई समुदायबीच विवाद उत्पन्न भएपछि ढुंगा हानाहान भएको थियो । केही घाइते भएका थिए ।

यसपछि जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको पहलमा शुक्रबार साँझ दुवै पक्षबीच ६ बुँदे सहमति भएको थियो । तर, शनिबार बिहान करिब ९ बजेदेखि पुनः ढुंगा–मुढा हुन थालेपछि स्थिति तनावपूर्ण बनेको हो ।

झडपपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी खटिएका छन् ।

यसअघि शुक्रबार स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर तथा ४० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *