रौतहटमा कर्फ्यू आदेश, विवाहमा बजाएको बाजाले निम्तिएको विवाद झडपमा बदलियो
काठमाडौं । दुई धार्मिक समुदायबीच विवाहमा उत्पन्न विवाद झडपमा परिणत भएपछि रौतहटमा कर्फ्यू आदेश जारी भएको छ ।
गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपले उग्र रुप लिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।
कर्फ्यूआदेश आज दिउँसो १ बजेदेखि जारी गरिएको जिल्ला प्रशासन कार्यालय रौतटहले जनाएको छ ।
पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर, दक्षिणतर्फ गौर भन्सार कार्यालयमा कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले बताएका छन् ।
मस्जिदमा प्राथना भइरहेको बेलामा हिन्दू समुदायले बाजा बजाएको भन्दै विवाद सुरु भएको थियो ।
घटनापछि शुक्रबार बिहानैबाट रौतहटका गौर क्षेत्र तनावग्रस्त बन्न पुगेको छ ।
अहिले पनि अवस्था असामान्य बन्दै गएपछि कर्फ्यू जारी गरिएको हो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्यासका सेलहरू प्रहार गरिरहेको छ ।
गौरको वडा नम्बर ४, ५ र ६ मा झडप भइरहेको छ ।

