हिन्दु र मुस्लिम दुवै समुदायलाई संयमता अपनाउन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालकाे आग्रह
काठमाडौं । गृह जिल्ला राैतहटमा तीन दिनदेखिकाे तनाव मत्थर नभएपछि पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले चिन्ता प्रकट गरेका छन् ।
उनले आज एक सन्देश जारी गर्दै हिन्दु र मुस्लिम दुवै समुदायबीच उत्पन्न विवाद अन्त्य गर्नका लागि संयमता अपनाउन आग्रह गरे ।
धार्मिक सहिष्णुतालाई आत्मसात् गर्दै एकअर्काको धर्म, संस्कृति एवं चाडपर्वको सम्मान गरेर सदियौँदेखि मिलेर बसेका दुवै समुदायबीच सहयोग र सहकार्यसहित मिलेरै जानुपर्नेमा जोड दिए ।
साम्प्रदायिक हिंसा कुनै पनि हालतमा स्वीकार्य नहुने पनि उनकाे भनाइ छ ।
नेता नेपालले हिन्दु वा मुस्लिम दुवै एकअर्काका परिपूरक रहेको टिप्पणी गर्दै उनले स्थानीय जनताको सुरक्षा व्यवस्थासहित जीवन रक्षाका लागि सरकारसँग माग गरे।
तोडफोड, आगजनी तथा ढुङ्गा हानाहानका घटना बढ्दै गएपछि प्रशासनले जारी गरेको ‘कर्फ्यु’ को अवस्थालाई सामान्यीकरण गर्न आफूले केन्द्रमा गृहमन्त्रीसँग छलफल गरिरहेको उल्लेख गरे।
शुक्रबार मुस्लिम समुदायका मानिसहरु नमाज पढिरहेका बेला हिन्दुहरुले विवाहमा बाजागाजा बजाएर डिस्टर्ब गरेकाे भन्दै उत्पन्न विवाद अन्तत: ढुङ्गा हानाहानमा परिणत भएकाे थियाे ।
आज पनि तनाव कायमै छ । शुक्रबार प्रहरीले हवाइ फायर गर्नुपरेकाे थियाे भने शनिबार कर्फ्यू आदेश जारी गरेर स्थानीय प्रशासनले सेनालाई खटाएकाे थियाे ।
तनाव मत्थर नभएपछि सहिष्णुता भड्काउने र स्थितिलाई थप खराब बनाउन सक्रिय भएकाे भन्दै हिन्दु र मुस्लिम धर्मका केही अगुवालाई प्रहरीले पक्राउ गरेकाे छ ।
आज पनि गाैर क्षेत्रमा तनाव कायमै छ । प्रशासनले कर्फ्यू आदेशलाई जारी राखेकाे छ ।
निर्वाचनकाे छेकाेमा भएकाे तनावले सुरक्षा चुनाैती बढाउने भन्दै सरकार चिन्तित छ । यसबीच शनिबार गृहमन्त्री ओमप्रकाश अर्यालकाे अध्यक्षतााम केन्द्रीय सुरक्षा समितिकाे बैठक बसेकाे थियाे ।
बैठकले घटनाप्रति दु:ख व्यक्त गर्दै दुवै समुदायलाई सम्यमता अपनाउन आग्रह गरेकाे थियाे ।
