मलाई कुनै कुराको चिन्ता लाग्दैन: ओली
दमक। केपी शर्मा ओलीले आफूलाई कुनै पनि किसिमको चिन्ता नलाग्ने बताएका छन्। आइतबार दमकमा राधिका शाक्य र ओलीको ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा ‘मेरा अनुभूति’ पुस्तक सार्वजनिक कार्यक्रममा ओलीले यस्तो बताएका हुन्।
‘म अलिक फरक किसिमको मान्छे छु, म कुनै पनि कुरामा चिन्ता गर्दिनँ,’ ओलीले भने, ‘चिन्ताले झन् चिन्ता मात्रै हुन्छ। चिन्ताले न रोग ठीक हुन्छ, न अरू केही कुरा हुन्छ। त्यसैले म आफ्नो काम गर्छु, तर चिन्ता गर्दिनँ।’
कार्यक्रममा ओलीले आफूले रचेका साहित्यिक रचना तत्कालीन सत्ताले खोसेर लगेको बताए। ‘उहिले–उहिले मैले नोट बनाउने गर्थें, थुप्रै कविता पनि लेखेँ,’ उनले भने, ‘पछि लेखेको नोट माग्दा तत्कालीन समयमा मलाई भटमासको पोको दिइयो। निकै पीडाबोध भएको थियो। त्यसपछि मैले लेख्न छोडेँ।’
कार्यक्रममा बोल्दै ओलीले आफूले जीवनमा थुप्रै किसिमका दुर्घटना र रोगहरू भोगेको उल्लेख गरे। अनेक पटक अपरेसन गर्नुपरेको स्मरण गर्दै उनले आफ्नो जीवन निकै अप्ठ्यारो परिस्थितिबाट गुज्रिनुपरेको प्रष्ट पारे।
‘प्लेन क्र्यास पनि देखेँ, गाडी दुर्घटना पनि देखेँ, साइकल त दिनकै जसो हुन्थ्यो। रोगका त के कुरा गर्नु, दुईचोटि त किड्नी ट्रान्सप्लान्ट गरेको। सायद देशका लागि हुनुपर्छ, धेरै चीज भएर पनि बाँचियो,’ ओलीले भने।
अहिलेका युवाहरूमाझ ‘टाइमपास’ भन्ने कुरा ज्यादा रहेको बताउँदै ओलीले समयको सही सदुपयोग गर्न सुझाव दिए। उनले टाइमपास भनेको जिन्दगी पास हो भन्दै समय खेर नफाल्न सुझाए। ‘समयको सही सदुपयोग गर्नुस्, टाइमपास भनेको जिन्दगी पास हो,’ उनले भने, ‘एकाग्र भएर ज्ञान लिनुपर्छ। समयमा आफ्नो कर्म गर्नुपर्छ।’
लक्ष्मी प्रसाद देवकोटाले कविता लेख्दा–लेख्दै औँला जलेको कुरा अरूले भन्दिनुपर्थ्यो रे भन्ने प्रसंग सम्झँदै ओलीले आफूले गर्ने काम एकोहोरो भएर गर्न आग्रह गरे। ‘कुनै काम गर्दै हुनुहुन्छ भने एकोहोरो भएर गर्नुस्। म पनि पञ्चायतविरुद्ध एकोहोरो लडेर गणतन्त्र ल्याइछाडेँ,’ ओलीले भने।
ओलीले पुस्तक लेखेकोमा राधिका शाक्यलाई धन्यवाद पनि दिए।
