झापाका कुन निर्वाचन क्षेत्रमा कति खस्यो मत, क्षेत्र नं. ५मा सबैभन्दा धेरै
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा देशव्यापी चासो रहेको झापा-५ मा ६५.११ प्रतिशत मतदाताले मतदान गरेका छन् । यहाँ एक लाख ६३ हजार ३७९ मतदाता रहेकोमा एक लाख ६ हजार ३७२ जनाले मतदान गरेका हुन् । यो जिल्लामै सबैभन्दा धेरै मत खसेको क्षेत्र हो भने प्रतिशतका हिसाबमा जिल्लाको दोस्रो धेरै हो ।
पाँच निर्वाचन क्षेत्र रहेको झापामा सात लाख १३ हजार ५३७ मतदाता रहेकोमा चार लाख ५८ हजार ३६२ जनाले मतदान गरेका छन् । यो कुल मतदाताको ६४.२४ प्रतिशत हो ।
झापा-१मा ६३.९५ प्रतिशत मत खस्यो । एक लाख ३१ हजार ६७ जना मतदाता रहेको यो क्षेत्रमा ८३ हजार ८२२ जनाले भोट हाले । झापा-२मा सर्वाधिक धेरै ६५.२५ प्रतिशत मत खस्यो । यहाँ १ लाख ४७ हजार ५२२ मतदाता थिए, जसमध्ये ९६हजार ५२३ले मतदान गरे ।
एक लाख ४० हजार ८५७ मतदाता रहेको ३मा ८८ हजार ४४९ अर्थात ६२.७९ प्रतिशतले मतदान गरे भने एक लाख ३० हजार ७१२ मतदाता रहेको झापा ४ मा ८३ हजार ४६६ अर्थात ६३.८५ प्रतिशतले भोट दिएका छन् ।
