कास्कीमा ६० प्रतिशत बढी मत खस्यो
गण्डकी। प्रतिनिधिसभा सदस्यका लागि आज भएको निर्वाचनमा कास्कीमा करिब ६० प्रतिशत मत खसेको छ ।
जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको र करिब ६० प्रतिशत बढी मत खसेको प्रदेश निर्वाचन कार्यालय, पोखराका प्रमुख नारायण ढकालले जानकारी दिनुभयो ।
मतदान सम्पन्न भएसँगै मतपेटिका सङ्कलन सुरु गरिएको जानकारी दिँदै उहाँले जिल्लाका ३६५ वटै मतदान केन्द्रका मतपेटिका बेलुका ८ः३० भित्रमा सङ्कलन गरिसक्ने गरी तयारी गरिएको जानकारी दिनुुभयो ।
प्रमुख ढकालका अनुसार मतपेटिका सङ्कलन भइसकेपछि सर्वदलीय बैठक बसेर राति ११ः०० बजेदेखि मतगणना गर्ने तयारी गरिएको छ ।
मतगणना कास्की क्षेत्र नं १ को पोखरा महानगरपालिका वडा नं १२ को कार्यालयमा, क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालय रहेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको कार्यालय, ड्यामसाइड र क्षेत्र नं ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको प्रदेश कृषि मन्त्रालयको सभाहलमा गरिने उहाँले जानकारी दिनुुभयो ।
