सिरहा क्षेत्र नम्बर ३ मा रास्वपाको अग्रता
सिरहा । सिरहा निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रारम्भिक अग्रता हासिल गरेको छ । सिरहा सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयमा भइरहेको मतगणनाको पछिल्लो परिणामअनुसार रास्वपाका उम्मेदवार डा. शम्भू यादव ४४४ मतले अगाडि रहेका छन् ।
अर्नमा गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सम्पन्न हुँदा डा. शम्भू यादवले १ हजार २७७ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै नेपाल कम्युनिस्ट पार्टीका विश्वनाथ साहले ८३३ मत ल्याएका छन् ।
त्यसैगरी नेकपा एमालेका लीलानाथ श्रेष्ठले ७७८ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टीका अशेश्वर यादवले ६८६ मत र नेपाली कांग्रेसका डा. सुभाष चन्द्र यादवले ४३६ मत प्राप्त गरेका छन् ।
सिरहा क्षेत्र नम्बर ३ अन्तर्गत ४१ वटा वडा रहेका छन् । यस क्षेत्रमा ४२ हजार ६७२ महिला र ३३ हजार ७५८ पुरुष गरी कुल ७६ हजार ७५८ मत खसेको निर्वाचन आयोगले जनाएको छ । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी कुल ४१ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
