९ पटक मन्त्री भएका कमल थापा ७ औँ पटक पराजित, जोगिएन जमानत पनि
काठमाडौं । पूर्वपञ्च कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट निर्वाचन लडेर जित्नकै लागि आफू नेतृत्वको राप्रपा नेपाललाई राप्रपामा बिलय गराए ।
काठमाडौं–५ मा राप्रपाबाट टिकट लिए । निर्वाचन लडे । तर, उनको जमानतै जफत भयो । यो उनको सर्मनाकलाग्दो हार हो । २०५१ मा एकपटक प्रत्यक्षमा निर्वाचन जितेबाहेक जतिपटक प्रत्यक्ष निर्वाचन लडे, हरेकपटक हार्नु सामान्य भइसक्यो ।
एकपटक २०७० मा समानुपातिक सभासद भए । बाँकी निर्वाचनहरूमा जतिपटक लडे पनि जित्न सकेनन् । अर्थात्, प्रत्यक्ष निर्वाचनबाट जित्नु उनका लागि २०५१ पछि आकाशको फल आँखा तरी मरको स्थिति भएको छ ।
तर, पूर्वपञ्च थापा ती नेता हुन्, जो संसद् दुईपटक पुगे पनि ९ पटक मन्त्री भए । उपपप्रधानसमेत भए । तर, संसदीय निर्वाचनमा उनका लागि अफापजस्तै हुँदै गएको छ ।
जुन यसपटकको निर्वाचनले पनि देखायो । उनले यसपटक जमानत पनि जोगाउन सकेनन् । सर्मनाक हार बेहोरे ।
पार्टीभित्रका अन्य आकांक्षीलाई पेलेर जबरजस्ती टिकट हत्याएका थापालाई मतदाताले अस्वीकृत गरे । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल ३० हजार ७३७ मत ल्याएर विजयी भए ।
दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका प्रदीप पौडेलले ९ हजार १५९ मत प्राप्त गर्दा नेकपा एमालेका हेभिवेट नेता ईश्वर पोखरेल ४ हजार ७०१ मतसहित तेस्रो स्थानमा खुम्चिए।
तर, राप्रपाको चुनाव चिह्न लिएर हलोउठेका कमल थापाले भने जम्मा १ हजार ९२२ मत मात्र प्राप्त गरे। कुल सदर मतको १० प्रतिशत पनि ल्याउन नसकेपछि कानुनबमोजिम उनको जमानत जफत भयो ।
काठमाडौँ-५ बाट राप्रपाका तर्फबाट स्थानीय नेता हिक्मतजंग कार्कीले टिकट पाउने निश्चित भइसकेको थियो। तर, अन्तिम समयमा कमल थापाले आफ्नो प्रभाव प्रयोग गर्दै पेलेर उक्त टिकट आफूले लिएको आरोप लागेको थियो ।
लामो समयदेखि क्षेत्रमा खटिएका कार्कीको टिकट खोसिएपछि आक्रोशित हुँदै उनले राप्रपा नै परित्याग गरेका थिए। अन्ततः थापा पनि नराम्ररी हारे ।
थापाले २०४७ सालपछि भएका विभिन्न चुनावमा पटक-पटक उम्मेदवारी दिए पनि प्रत्यक्षतर्फ उनको नतिजा निकै कमजोर रहँदै आएको छ। उनले २०५१ सालबाहेक प्रत्यक्ष निर्वाचनमा जित निकाल्न सकेका छैनन्।
उनको चुनावी इतिहास
२०४८ साल (प्रतिनिधिसभा) मकवानपुर–१ बाट एमालेका कृष्णप्रसाद दाहालसँग पराजित।
२०५१ साल (मध्यावधि) मकवानपुर–१ बाट विजयी। तर, सोही चुनावमा मकवानपुर–२ बाट एमालेका विरोध खतिवडासँग पराजित।
२०५६ साल (प्रतिनिधिसभा) मकवानपुर–१ मा एमालेका कृष्णप्रसाद दाहाल र मकवानपुर–३ मा एमालेकै वीरबहादुर लामासँग दुवै क्षेत्रमा पराजित।
२०६४ साल (पहिलो संविधानसभा) मकवानपुर–३ मा माओवादीका प्रल्हाद लामिछानेसँग पराजित।
२०७० साल (दोस्रो संविधानसभा) प्रत्यक्ष चुनाव नजिते पनि समानुपातिक सूचीबाट संसद् प्रवेश।
२०७४ साल (प्रतिनिधिसभा)मकवानपुर–१ मा एमालेका कृष्णप्रसाद दाहालसँग पराजित।
२०७९ साल (प्रतिनिधिसभा) मकवानपुर–१ मा राप्रपाकै दीपक सिंहसँग पराजित हुँदै तेस्रो स्थानमा सीमित।
