रविन्द्र मिश्रले गरे दलीय राजनीति त्याग्ने घोषणा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले दलीय राजनीति नगर्ने घोषणा गरेका छन्। प्रतिनिधिसभा निर्वाचन २०८२ मा काठमाडौं-१ बाट लगातार तेस्रो पटक पराजित भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो घोषणा गरेका हुन्।
मिश्रले फेसबुकमा वक्तव्य जारी गर्दै आफूले लिएको निर्णय निराशा, हताशा वा हतारमा नभई धेरै सोच विचारपछि गरेको बताएका छन्। उनले देशभर राजसंस्था पुनर्स्थापनाको पक्षमा जनमत भए पनि त्यसलाई संगठित र पूँजीकृत गर्न राप्रपा विभिन्न कारणले असफल भएको उल्लेख गरेका छन्। त्यसका लागि पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले आफू पनि जिम्मेवार रहेको उनको भनाइ छ।
मिश्रले बदलिँदो भू-राजनीतिक अवस्था र देशभित्रका जटिल परिस्थितिबीच भावी पुस्ताका लागि देश बचाउन तथा निर्माण गर्न नयाँ समझदारी र संरचनागत पुनरावलोकन आवश्यक रहेको बताएका छन्।
गत नौ वर्षको राजनीतिक यात्रामा आफूले इमानदारीपूर्वक देश र राजनीतिक रूपान्तरणका लागि प्रयास गरेको उल्लेख गर्दै उनले ‘देशभन्दा माथि स्वार्थ’ राखेर कुनै काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मिश्रले यस अवधिमा साथ र सहयोग गर्ने देश विदेशमा रहेका नेपाली तथा पार्टीका नेता कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन्। साथै, उनले प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई तथा शुभकामना पनि दिएका छन्।
