`

समावेशी लोकतन्त्रको झल्को: २४ सांसदले मातृभाषामा शपथ लिने

Nepal One HD १० चैत २०८२ ८:००
बिशेष

काठमाडौं । नवनिर्वाचित २४ जना सांसदले मातृभाषामा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।

संसद् सचिवालयका अनुसार उनीहरूले तामाङ, नेपाल भाषा, थारु, मैथिली, भोजपुरी, संस्कृत, डोटेली, राना थारु, वान्तावा, मगही र अवधि भाषामा नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गर्ने भएका हुन् ।

उनीहरूलाई ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले यही १२ चैतको दिउँसो २ बजे शपथ ग्रहण गराउने भएका हुन् ।

सिंहदरबार परिसरभित्र निर्माणाधीन सड्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा सांसदहरूलाई शपथ गराउने कार्यक्रम तय भएको छ ।

नेपाल भाषामा सांसदहरू अनुष्का श्रेष्ठ, कृष्णभक्त शाक्य, गंगालक्ष्मी अवाल, मदनकृष्ण श्रेष्ठ, रुकेश रञ्जित र विराजभक्त श्रेष्ठ छन् ।
डोटेली भाषामा आकृति अवस्थी, दीपकराज बोहरा र हरिनादेवी कामी छन् ।

मैथिली भाषामा उज्जवलकुमार झा, दीपककुमार साह (महोत्तरी), दीपककुमार साह (सुनसरी), प्रमोदकुमार महतो, मातृका यादव र सीताराम साह छन् ।

भोजपुरी भाषामा कन्हैया बनिया, थारु भाषामा गीता चौधरी र प्रमिलाकुमारी गच्छदार तथा राना थारुमा कृपाराम रानाले शपथ ग्रहण गर्ने भएको संसद् सचिवालयले जनाएको छ ।

तामाङ भाषामा सांसद परशुराम तामाङले शपथ ग्रहण गर्न संसद् सचिवालयमा नाम टिपाएका छन् ।

संस्कृत भाषामा खुश्बु ओली, मगही भाषामा जोगकुमार यादव र अवधि भाषामा मोहम्मद इस्तियाक राईले शपथ ग्रहण गर्ने भएका हुन् । यस्तै, ध्रुवराज राईले वान्तावा भाषामा शपथ ग्रहण गर्ने भएका छन् ।

शपथसम्बन्धी ऐन २०७९ मा शपथको भाषासम्बन्धी व्यवस्था छ, जसअनुसार सांसदहरूले मातृ भाषामा शपथ लिन पाउनेछन् ।

शपथसम्बन्धी ऐनको दफा ५ मा भनिएको छ, ‘शपथ लिँदा वा शपथ गराउँदा सरकारी कामकाजको नेपाली भाषामा लिनु वा गराउनुपर्नेछ ।’

सोही व्यवस्थाअनुसार आफूले शपथ खान चाहेको भाषाको विवरण संसद सचिवायलयमा गराएका हुन् ।

मातृभाषामा शपथ लिन चाहने सांसदहरूलाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,२०७४ को अनुसूची–३ को ढाँचाको शपथको ब्यहोरा सम्बन्धित भाषामा अनुवाद गरी सो अनुवादको प्रति शपथ कार्यक्रमभन्दा तीन दिन अगावै सड्घीय संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा वा सो शाखाको इमेलमा उपलब्ध गराउन सचिवालयले अनुरोध गरेका थिए ।

त्यसअनुसार २४ सांसदले मातृभाषामा शपथ लिन चाहेको भन्दै नाम टिपाएको संसद्का प्रवक्ता एकराम गिरीले बताए ।

मातृभाषामा शपथ लिने यो अभ्यासले नेपालको भाषिक विविधता र समावेशी लोकतन्त्रको अभ्यासलाई बलियो बनाएको विश्लेषण गरिएको छ ।

संविधानले प्रत्येक नागरिकलाई आफ्नो मातृभाषा प्रयोग गर्ने अधिकार सुनिश्चित गरेअनुसार सांसदहरूले त्यसको प्रयोग गरेका हुन् ।

यस कदमले संसद्मा प्रतिनिधित्व मात्र होइन, पहिचान र सम्मान पनि झल्किने गरेको छ ।

मातृभाषासेवीहरूले भने लामो समयदेखि नेपाली भाषामै शपथ सीमित भएकोमा मातृभाषाबाट पनि शपथ लिने पाउने व्यवस्थाले लोकतान्त्रिक प्रणालीलाई थप मजबुत पार्ने बताउने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *