पोखराबाट ३८ जना पक्राउ
पोखरा। पोखरामा फेवातालमाथि रहेको सेदी क्षेत्रको जङ्गल नजिकै एक पुरानो घरमा आयोजना गरिएको ट्रान्स पार्टीबाट प्रहरीले ३८ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोमबार राति ठूलो ध्वनिमा सङ्गीत, मादक पदार्थ र विभिन्न लागुऔषधसहित युवायुवतीको जमघट भइरहेको सूचना पाएपछि प्रहरी टोली आइतबार बिहान करिब १:३० बजे घटनास्थल पुगेको थियो। सो क्रममा जङ्गलबीचको घरमा पार्टी गरिरहेका विदेशी तथा नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार उक्त पार्टी नेपाली नागरिक बमेन्द्र पुन र भारतीय नागरिक अनुभव शर्माले आयोजना गरेका थिए। जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी बैदाम र लागुऔषध नियन्त्रण ब्युरो पोखराको संयुक्त टोलीले कारबाही गरेको हो।
प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार नियन्त्रणमा लिइएका ३८ जनामध्ये १२ जनाविरुद्ध लागुऔषध सम्बन्धी मुद्दा चलाउने तयारी गरिएको छ भने बाँकी २६ जनालाई सोधपुछपछि रिहा गरिएको छ।
मुद्दा चलाइनेहरूमा भारतीय नागरिक सृष्टि चन्द र अनुभव शर्मा, पोखराका विशाल परियार, आशीष दर्जी र बमेन्द्र पुन, दाङका सौरभ महरा, काठमाडौँका निकुञ्ज कार्की, सक्षम कोइराला, रोशन अधिकारी, विवेक परियार, लोकबहादुर घर्तीमगर (सौरभ) तथा ब्राजिलका चाल्र्स गुवाइवा रहेका छन्। यसैगरी चार जनाविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट एमडीएमए, चरेस, कोकिनजस्तो सेतो धुलो, खैरो हेरोइनजस्तो पदार्थ, आइस (एम्फेटामिनजस्तो), गाँजा, म्याजिक मसरुम तथा कागज र तरल रूपमा रहेको एलएसडीलगायत विभिन्न प्रकारका लागुऔषध बरामद गरेको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।
