२ जना पक्राउ
काठमाडौं । खाजाघरको आवरणमा यौनधन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-९ की ३७ वर्षीया सुकुमाया तामाङ र इन्द्रावती-४ का ३१ वर्षीय प्रमोद तामाङ रहेका छन्। उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सुकुमायाले मनमैजुस्थित अशोक खाजाघर र प्रमोदले सञ्चालन गरेको मञ्जुश्री घरमा यौनधन्दा चलाउँदै आएका थिए। भाडा माझ्ने तथा सरसफाइको काम भन्दै मासिक ७ देखि १५ हजार रुपैयाँ तलब दिने प्रलोभन देखाई युवतीहरूलाई काममा राखी यौनधन्दामा लगाएको आरोप उनीहरूमाथि छ।
पक्राउ परेका दुवैजनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले जानकारी दिए।
