मुस्ताङमा हिमचितुवाको बिगबिगी
मुस्ताङ। मुस्ताङमा हिमचितुवाको आक्रमणले ठूलो क्षति भएको छ। लोमान्थाङ गाउँपालिका-४ चुमजुङमा २१ वटा भेडाच्यांग्रा मरेका छन् भने सात वटा घाइते भएका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार, न्याम्डोका स्थानीय पशुपालक घ्याचो गुरुङको खोरमा पसेर हिमचितुवाले आक्रमण गरेको हो। खोरमा रहेका ३१५ भेडाच्यांग्रामध्ये १० च्यांग्रा र ११ भेडा मारिएका हुन्। ग्याबिन तारले घेरिएको सुरक्षित खोरमै आक्रमण भएको जनाइएको छ।
घटनाको जानकारी पाएपछि एक्याप, जिल्ला प्रहरी कार्यालय र पशु प्राविधिकसहितको टोली आइतबार बिहान घटनास्थल पुगेर निरीक्षण गरेको थियो। प्रारम्भिक मूल्यांकनअनुसार करिब ४ लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।
यसअघि पनि मुस्ताङका विभिन्न क्षेत्रमा यस्ता घटना भइरहेका छन्। फागुन ११ गते किम्लिङमा हिमचितुवाको आक्रमणबाट नौ च्यांग्रा मरेका र नौ घाइते भएका थिए। त्यस्तै, मार्फा क्षेत्रमा दुईपटकसम्म भएको आक्रमणमा तीन दर्जनभन्दा बढी च्यांग्रा मारिएका थिए।
पछिल्ला वर्षहरूमा हिमचितुवा बस्ती र मुख्य सडक आसपास देखिन थालेपछि स्थानीयवासीमा त्रास बढ्दै गएको छ।
