`

२१ दिनपछि गुण्डु फर्के ओली

Nepal One HD ५ वैशाख २०८३ २१:१२
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्। पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया गरिएको ६ दिनपछि शनिबार साँझ उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो। डिस्चार्जपछि उनी भक्तपुरको गुण्डुस्थित आफ्नै निवासतर्फ गएकाे उनकाे सचिवालयले जनाएको छ।

जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको अनुसन्धान गर्न भन्दै प्रहरीले चैत १४ गते गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा ओलीलाई पक्राउ गरेको थियो। पक्राउपछि सोही दिन स्वास्थ्य परीक्षणका लागि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पतालमै भर्ना भएका थिए र प्रहरीले त्यहीँ हिरासतमा राखेर अनुसन्धान अघि बढाएको थियो।

यसबीच, ओलीकी पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सो रिटमाथि सुनुवाइ गर्दै अदालतले चैत २६ गते उनलाई रिहा गर्न परमादेश दिएको थियो। त्यसपछि प्रहरीले अस्पतालमै उनलाई पत्नी राधिकाको जिम्मा लगाएर हाजिरी जमानीमा रिहा गरेको थियो।

यद्यपि, रिहा भएपछि पनि उनले तत्काल अस्पताल नछोडी उपचारलाई निरन्तरता दिएका थिए। यसअघि नै पित्तथैलीमा पत्थरी देखिएको हुँदा चैत ३० गते उनको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि थप ६ दिन उपचार गराएपछि अन्ततः उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *