`

बुटवलमा जीतगढी विजय उत्सवकाे राैनक

Nepal One HD ८ वैशाख २०८३ १८:०२
पर्यटन

बुटवल। बुटवलमा जीतगढी विजय उत्सव सुरु भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको यो उत्सव यस वर्ष पनि विशेष कार्यक्रमका साथ सुरु भएको हो । उत्सवमार्फत ऐतिहासिक जीतगढी किल्लाको संरक्षण, प्रवर्द्धन र वीरताको इतिहासलाई जनस्तरसम्म पुर्‍याउने लक्ष्य राखिएको  बुटवल उपमहानगरपालिकाले जनाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उत्सव उद्घाटन गरेका छन् ।

सो अवसरमा गोर्खाबाट पैदलयात्रा गर्दै आइपुगेको नेपाली सेनाको टालीलाई स्वागत समेत गरिएको थियो । बिभिन्न संघसंस्थाले आआफ्ना झाँकीहरु प्रस्तुत गरेका थिए भने नेपाली सेनाले समेत प्रदर्शन गरेको थियो ।

वि.सं. १८७२ वैशाख ७ गते आधुनिक हतियारसहित आएको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा यो उत्सव मनाइँदै आएको छ । युद्धकला, साहस र रणनीतिक कौशलका आधारमा नेपाली सेनाले विजय हासिल गरेको उक्त घटनाले नेपाललाई विश्वमा ‘वीर गोर्खाली’को रूपमा चिनाएको इतिहासमा उल्लेख छ ।

बुटवलको तिनाउ नदी किनारस्थित जीतगढी क्षेत्रमा भएको युद्धमा नेपाली सेनाको नेतृत्व कर्णेल उजिरसिंह थापाले गरेका थिए भने अंग्रेज फौजको नेतृत्व जनरल सुलेभान उडले गरेका थिए । उक्त युद्धमा नेपाली सेनाका तीन गण सहभागी थिए । इतिहासविद्का अनुसार युद्धमा तीन सयभन्दा बढी अंग्रेज सैनिक मारिएका थिए ।

चुरे पर्वतको काख र तिनाउ खोलाको पश्चिम किनारमा रहेको यो किल्ला सेनकालीन समयमा १६ औं शताब्दीमा निर्माण भएको मानिन्छ । अंग्रेजसँगको युद्धमा विजय हासिल गरेपछि यसको नाम ‘जीतगढी’ रहन गएको स्थानीय जानकार बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *