बालेन सरकारविरुद्ध आक्रोश ओकल्दै रास्वपाकै सांसदहरू
काठमाडौं । बालेन सरकारविरुद्ध रास्वपाका एकपछि अर्को सांसदको असन्तुष्टि चुलिएको छ । सांसद गणेश कार्की, रीमा विश्वकर्मापछि पारशमणि गेलालले बालेन सरकारविरुद्ध असन्तुष्टिको आगो ओकलेका हुन् ।
पारसले बालेन सरकारविरुद्ध सामाजिक सञ्जाल फेसबुकबाटै कडा शब्दमा प्रश्न गरेका छन्, उदयपुर सिमेन्ट उद्योगमा काम गर्ने कर्मचारी र मन्त्रालयमा काम गर्ने कर्मचारीमा किन विभेद सरकार ? उदयपुर–१ बाट निर्वाचित रास्वपा सांसद गेलाल बालेन सरकारविरुद्ध यतिमा रोकिएनन्, उनले बालेन सरकारले थप सोधे– १३ महिनादेखि तलब नपाउँदा परिवार कसरी पाल्नु ? कि मानवता हुन्न ? तलब देउ सरकार ।
यसअघि रास्वपा सांसद रीमा विश्वकर्माले सिन्धुलीका युवक श्रीकृष्ण विकको प्रहरी हिरासतमा भएको मृत्यु प्रकरणमा प्रहरी र सरकारी वकिल कार्यालयले जाहेरी नलिएपछि बालेन सरकारलाई सोधेकी थिइन्– पीडित परिवारले कसरी न्याय पाउने सरकार ?
रास्वपा सांसद रीमाभन्दा पहिले रास्वपाकै अर्का सांसद गणेश कार्कीले प्रधानमन्त्री बालेनले अध्यादेशको बाढी ल्याएपछि त्यो बहादुरी नभएको भन्दै कडा शब्दमा आलोचना गरेका थिए । यसले देखाउँछ– रास्वपा सांसदहरू विस्तारै बालेन सरकारविरुद्ध आक्रोश ओकल्न थालेका छन् ।
