रोल्पा जीप दुर्घटनामा २० को मृत्यु : बालेनको सचीवालयले फोन नउठाएको स्थानीयको गुनासो, रास्वपाले तीन दिनपछि मात्रै थाहा पायो
रुकुम। पूर्वबाट रोल्पाको थवाङ-जलजला क्षेत्रतर्फ जाँदै गरेको जीप दुर्घटनामा २० जनाको ज्यान गएको आज तीन दिन भयो। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घटना घटेको तीन दिन पछि मात्र शोक वक्तव्य सार्वजनिक गरेको छ।
स्थानिय जनप्रतिनिधिहरूले उद्धारका लागि संघीय सरकार र नेपाली सेनासँग हेलिकोप्टर माग गर्दा पनि उपलब्ध नगराएर बेवास्ता गरेको आरोप लगाएका छन्। साथै, बालेनको सचिवालयलाई सम्पर्क गर्न खोज्दा फोन पटक पटक काटिएको गुनासो उनीहरूले सार्वजनिक गरेका छन्।
बिहीबार थवाङ-१ स्थित भिरालो बाटोमा लु १ ज ४१६७ नम्बरको जीप करिब ७००-८०० मिटर तल भीरमा खस्दा ठूलो मानवीय क्षति भएको थियो।
यो भयानक दुर्घटनापछि विभिन्न क्षेत्रबाट शोक तथा संवेदना व्यक्त भइरहेका बेलामा सत्ताको शीर्ष नेतृत्वको मौनतामाथि गंभीर प्रश्न उठ्न थालेका छन्। प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछाने तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले एक शब्द पनि नबोलेको भन्दै तीव्र आलोचना भइरहेको छ।
यता, स्वास्थ्यलाभमा रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने घटनालगत्तै शोक सन्देश जारी गर्दै मृतप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। त्यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि आफ्नो चुनावी जिल्लामा परेको यस घटनाबारे तत्काल प्रतिक्रिया दिँदै शोक व्यक्त गरे।
रास्वपाले भने शनिबार मात्र विज्ञप्ति निकाल्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको र सडक सुरक्षामा नीतिगत सुधार, कडा कार्यान्वयन र पूर्वाधार विकास आवश्यक रहेको टिप्पणी गरेको छ। दुर्घटनापछि सुरक्षाकर्मी र स्थानीयबासी उद्धारमा जुटे पनि दुर्गम भूगोलका कारण काम अत्यन्त चुनौतीपूर्ण बनेको थियो।
करिब ५ सय मिटर तल खसेको जीपबाट शव निकाल्न सुरक्षाकर्मीले ठूलो जोखिम मोल्नु परेको थियो। यस घटनाले दुर्गम क्षेत्रका नागरिकप्रति राज्यको उदासीनता र पहुँचको अभाव पुनः एक पटक उजागर गरेको भन्दै तिखो आलोचना भइरहेको छ।
