बालेनलाई लिपुलेक जान दुर्गा प्रसाईंको खुल्ला च्यालेन्ज (भिडियो)
काठमाडौं। राजावादी अभियन्ता दुर्गा प्रसाईंले सरकारको प्राथमिकता सुकुम्बासी हटाउनेतर्फ केन्द्रित भएको भन्दै कडा आपत्ति जनाएका छन्।
उनले राज्यको ध्यान सीमा सुरक्षा र राष्ट्रिय मुद्दातर्फ जानुपर्नेमा सुकुम्बासी बस्तीमा डोजर चलाइएको आरोप लगाएका हुन्।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू अबदेखि गरिब, सर्वहारा र सुकुम्बासी वर्गको पक्षमा उभिने घोषणा गरेका छन्। उनले भने, ‘म आजबाट सर्वहारा बर्ग, गरिब, सुकम्वासीको पक्षमा लड्छु, सक्छौ भने पक्रेर लैजाउ । यिनीरुले गरिब सर्वहारालाई रुवाएका छन्, त्यसको आँशु लाग्छ ।’
प्रसाईंले यस्तो अभियानका कारण निम्न वर्गका मानिसहरू पीडित भइरहेको भन्दै त्यसको परिणाम राज्यले भोग्नुपर्ने चेतावनीसमेत दिएका छन्।
उनले भूमिहीनहरूको बसोबासबारे प्रश्न उठाउँदै सरकारी जग्गा नै उनीहरूको अन्तिम विकल्प भएको तर्क गरेका छन्। साथै, राज्यले विदेशी शरणार्थीलाई बसोबास दिन सक्ने तर आफ्नै नागरिक भूमिहीन हुने अवस्था अस्वीकार्य रहेको टिप्पणी गरेका छन्।
‘अर्काको प्राइभेट जग्गामा बस्न दिँदैनन् । जानुपर्ने खोलाको किनारमै त हो नि । उनीहरुकै पार्टीका सांसद केपी खनाल पनि सुकुम्वासी रहेछ त ? उसको चाहिँ घर बुवाआमाले दुख गरेर कमाएको रे । अरुले पनि त दुखै गरेर जीवनभरिको कमाइले बनाएका होलान् नि । घर भनेको सपना हो । घर छैन भने जाने सरकारी जग्गामा हो । यही देशमा भुटानीदेखि रोहिंगयासम्मले बास पाउने, आफ्नै देशका जनताले नपाउने ?’ उनले भने ।
प्रसाईंले सरकारको ध्यान सीमा विवाद जस्ता विषयमा केन्द्रित हुनुपर्ने भन्दै कालापानी र लिपुलेक जस्ता क्षेत्रतर्फ सुरक्षा र कूटनीतिक ध्यान जानुपर्ने बताएका छन्।
उनले भने, ‘भोलीदेखि भारत र चीनले मानसरोबरको बाटो खोल्दैछन् । नेपाली सेनालाई त्यहाँ पठाउनु नि ? आफ्नो भूमि फिर्ता ल्याउनुपर्दैन ? ग्रेटर नेपालको नक्सा लगाएको होइन मेयर हुँदा ? त्यो भूमि किन फिर्ता ल्याउँदैन ? नेपाली सेना आज सुकुम्वासी बस्तिमा हुनुपर्ने कि लिपुलेक कालापानीमा हुनुपर्ने ? बालेन कहाँ हुनुपर्ने ?’
थप्दै उनले भने, ‘बालेन डोजर लिएर सुकुम्वासी बस्तिमा होइन लिपुलेक कालापानीमा हुनुपर्ने ? आज सामाजिक सञ्जालमा यिनीहरुले २ हजार जना मान्छे मुख छाड्नलाई मात्र राखेका छन् । एल्गोरिद्म र सोसल मिडिया कब्जा गरेर कसैलाई बोल्न दिँदैनन् । बोल्यो कि अमाचकारी गाली आउँछ । तर, म यो प्रवित्ति विरुद्ध एक्लै भए पनि लड्छु ।’
