`

सरकारले अध्यादेशमार्फत चलायो डण्डा : स्वास्थ्य क्षेत्रका दर्जनौं संस्थाका पदाधिकारी पदमुक्त,को-को परे ?

Nepal One HD २० वैशाख २०८३ १४:४५
जीवनशैली/स्वास्थ्य

काठमाडौं। सरकारले अध्यादेशमार्फत चिकित्सा विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड तथा विभिन्न स्वास्थ्यसम्बद्ध नियमनकारी निकायका पदाधिकारीहरूलाई पदमुक्त गरेको छ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३ जारी गरेका हुन्।

यी अध्यादेश लागू भएसँगै विभिन्न स्वास्थ्य तथा शैक्षिक निकायका शीर्ष पदाधिकारीहरू पदमुक्त भएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्रकुमार बस्नेत, रेक्टर डा. लोचन कार्की, रजिष्ट्रार डा. ज्ञानेन्द्र शाह र डिन डा. अशेष ढुंगाना पदबाट हटाइएका छन्।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विक्रमप्रसाद श्रेष्ठ, रेक्टर प्रा.डा. सञ्जीवकुमार शर्मा, रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौला र अस्पताल निर्देशक डा. जगतनारायण प्रसाद पनि पदमुक्त भएका छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धिप्रसाद पौडेल, रेक्टर डा. सिर्जना श्रेष्ठ, रजिष्ट्रार डा. पारसप्रसाद आचार्य, डिन डा. नेविशमान सिंह प्रधान र अस्पताल निर्देशक डा. रवि शाक्य पदबाट हटाइएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. पुजनकुमार रोकाय, रेक्टर डा. डबलबहादुर धामी र रजिष्ट्रार डा. लक्ष्मीचन्द्र महत पदमुक्त भएका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. भरतबहादुर खत्री पनि हटाइएका छन् भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारसहितका पदाधिकारी पनि पदमुक्त भएका छन्।

शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. रवि मल्ल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशक पनि हटाइएका छन्।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झासहित चार निर्देशक पदमुक्त भएका छन्। नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालसहित सदस्यहरू, नेपाल नर्सिङ परिषद्का अध्यक्ष मुनाकुमारी थापा र रजिष्ट्रार शुक्ला खनालसहित सदस्यहरू पनि हटाइएका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. नारायणविक्रम थापा र सदस्य सचिव डा. प्रमोद जोशी पनि पदमुक्त भएका छन्। नेपाल आयुर्वेद चिकित्सा परिषद्का अध्यक्ष श्याममणि अधिकारी र रजिष्ट्रार दीपक भण्डारी, नेपाल फार्मेसी परिषद्का अध्यक्ष प्रज्वलजंग पाण्डे र रजिष्ट्रार सञ्जीवकुमार पाण्डे तथा नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सुवोध शर्मा पनि पदबाट हटाइएका छन्।

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापा क्षेत्रीसहित ७ जना मनोनीत सदस्यहरू पनि पदमुक्त भएका छन्। यससँगै बोर्ड नेतृत्वविहीन बनेको छ। यसअघि कार्यकारी निर्देशक पद पनि रिक्त रहेको थियो।

अध्यादेशले विभिन्न ऐनअन्तर्गत नियुक्त भएका थप पदाधिकारीहरूको पदसमेत स्वतः रिक्त हुने व्यवस्था गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *