ब्ल्याक होलको परिक्रमा गर्ने ब्लानेट्समा बसोबास सम्भव छ ?
काठमाडौं । विश्व ब्रह्माण्ड असंख्य रहस्यहरूले भरिएको छ। तीमध्ये सबैभन्दा रोचक र कल्पनापूर्ण तर वैज्ञानिक रूपमै सम्भावित अवधारणामध्ये एक हो-ब्ल्याक होलको वरिपरि परिक्रमा गर्ने ग्रह, जसको वैज्ञानिक नाम ब्लानेट हो ।
सामान्य मानिसको दृष्टिमा ब्ल्याक होल अत्यन्त जोखिमपूर्ण, सबै वस्तु निल्ने, प्रकाशसमेत नफर्कने भयानक खगोलीय संरचना हो। तर ब्ल्याक होलको बाहिरी गुरुत्वाकर्षण प्रभाव भने एकदमै सामान्य छ, जुन समान द्रव्यमान भएको कुनै ताराको गुरुत्वाकर्षणभन्दा फरक पर्दैन। यही कारणले ग्रहहरूले तारालाई जस्तै गर्दै कालो प्वाललाई पनि परिक्रमा गर्न सक्छन्।
ब्रह्माण्डका धेरै ब्ल्याक होलहरू ठुला छैनन्। धेरैजसो सूर्यको तीन गुणामात्र द्रव्यमान भएका ‘स्टेलर-मास’ ब्ल्याक होल हुन्छन्, जुन कोर-कलेज सुपरनोभाबाट विशाल तारा विस्फोट भएर मर्दा वा दुईवटा न्यूट्रोन तारा आपसमा ठोक्किँदा बन्ने गर्छन्। यस्ता शक्तिशाली विस्फोटपछि केही पदार्थ फेरि ब्ल्याक होल वरिपरि फर्किएर डिस्क वा बादल बनाउँछ। यही अवशेषबाट ब्लानेटहरू बन्ने सम्भावना रहन्छ ।
ग्रहहरूले सुपरनोभापछि पनि आफ्नो कक्षा कायम राख्न सक्छन् भन्ने प्रमाण न्यूट्रोन ताराको वरिपरि परिक्रमा गर्ने साना ग्रहहरूको खोजबाट नै प्राप्त भइसकेको छ। न्यूट्रोन तारा आफैँ पनि सुपरनोभा विस्फोटपछि बन्ने हो। यस्तो अवस्थामा, यदि ग्रहहरूले सुपरनोभाजस्तो विध्वंसकारी घटना पनि झेल्न सक्छन् भने ब्ल्याक होल वरिपरि ग्रह बन्नु त झन् सम्भव छ। तर कालो प्वाललाई सुरक्षित मान्न सकिने अवस्था पनि छ। यदि ब्ल्याक होलको वरिपरि पर्याप्त ग्यास वा धुलो छैन र त्यो सक्रिय रूपमा पदार्थ नखाइरहेकाले घातक विकिरण निकालिरहेको छैन भने वातावरण अत्यन्त शान्त रहन सक्छ। यस्तो निष्क्रिय ब्ल्याक होल ग्रहका लागि खासै खतरनाक हुँदैन।
यद्यपि ऊर्जा भने मुख्य चुनौती हो। ब्ल्याक होल ताराजस्तो प्रकाश वा ताप उत्पन्न गर्दैन। कुनै ब्लानेट वासयोग्य हुन विशेष संयोजन आवश्यक पर्छ। त्यसको पहिलो सम्भावित स्रोत हो- ज्वारीय ताप । यदि ब्लानेटसँग ठूलो चन्द्रमा छ वा ब्लानेट आफैँ कुनै ठूलो ग्रहको चन्द्रमा हो भने गुरुत्वाकर्षणीय तानातानले ग्रहको भित्री भाग तताउन सक्छ। यसरी उत्पन्न तापले सतहमुनि विशाल महासागर कायम गर्न सक्छ, जुन युरोपा वा एनसेलाडसमा देखिएको सम्भावनासँग मेल खान्छ।
ब्लानेटको अर्को ऊर्जा स्रोत हो-रेडियोधर्मी क्षयबाट पाइने आन्तरिक ताप। सुपरनोभा वा किलोनोवा (न्यूट्रोन तारा-मर्जर) बाट बनेका ग्रहहरूको भित्री भागमा रेडियोधर्मी तत्वहरूको मात्रा धेरै हुन सक्छ, जसले लाखौँ वर्षसम्म ग्रहलाई भित्री ताप प्रदान गर्न सक्छ।
यसको वासयोग्यको तेस्रो स्रोत अझ रोचक छ-नजिकै सानो तारा उपस्थित हुनु। कतिपय अवस्थामा ब्ल्याक होल र सानो तारा मिलेर द्वैतीय प्रणाली बनाउँछन्। यस्तो सेटअपमा ग्रहले ताराबाट उज्यालो र ताप पाउँछ भने ब्ल्याक होलको स्थिर गुरुत्वाकर्षणले आफ्नो कक्षा सुरक्षित राख्छ। यो अवस्थामा सतहमै जीवन विकास भएर प्राविधिक सभ्यता जन्मिन सक्ने सम्भावना वैज्ञानिकहरूले अस्वीकार गरेका छैनन्। ब्ल्याक होलको नजिक उन्नत भौतिक प्रयोग गरी गुरुत्वीय तरंग, समय-विस्तार वा उच्च-ऊर्जा कणहरूको अध्ययन गर्न सक्थे-जसरी हामी कल्पनासम्म गर्न सक्दैनौँ।
ब्लानेटमा जीवन सम्भव हुनुका वैज्ञानिक आधारहरू यथार्थपरक छन्। ग्रहलाई ब्ल्याक होलले वा ताराले घुमाइदिन्छ भन्ने फरक पर्दैन। यसमा बाहिरबाट देखिने गुरुत्वाकर्षण समानै हुन्छ। जीवनका लागि ऊर्जा फ्लक्स पृथ्वीका लागि लगभग २००-२६० वाट/मिटर² जति आवश्यक हुन्छ। यदि यो ऊर्जा ज्वारीय ताप, आन्तरिक रेडियोधर्मी ताप वा नजिकैको ताराबाट प्राप्त भयो भने सतह वा सतहमुनि तरल पानी कायम रहन सक्छ।
सतहमुनि रहेका महासागरहरू जीवनको उत्कृष्ट आधारशिला बन्न सक्ने धेरै वैज्ञानिकहरूको मान्यता छ । यस्तो वातावरणमा जीवाणु, सूक्ष्म जीव वा आवश्यकता परेमा जटिल जीव पनि विकसित हुनसक्छन्। ब्ल्याक होल सक्रिय नभएकाले घातक एक्स-रे वा गामा विकिरणबाट ग्रह सुरक्षित रहन सक्छ, जसले वातावरण थप स्थिर राख्छ।
ब्लानेटको अवधारणा वैज्ञानिक हिसाबले धेरै नै सम्भावित मानिन्छ । यद्यपि यस्ता ग्रहहरू अत्यन्तै विशिष्ट परिस्थितिहरूमा मात्र बन्ने र दीर्घकालसम्म टिक्ने सम्भावना हुन्छ। तर ब्रह्माण्डको असीमित विस्तारले हेर्दा यस्ता असाधारण संरचनाहरू कतै न कतै अवश्य नै अस्तित्वमा हुनसक्छन्।
