`

जावालाखेलबाट रविले भने – ‘म इतिहास लेख्न आएको हुँ’

Nepal One HD २७ वैशाख २०८३ १६:१४
राजनीति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू राजनीति व्यक्तिगत जीवनी लेख्न नभई इतिहास रच्न आएको बताएका छन् ।

पार्टीबाट प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले आफ्नो राजनीतिक उद्देश्य सत्ता पद प्राप्ति मात्र नभएको स्पष्ट पारे ।

‘कसैलाई लाग्ला, पार्टी सभापति बन्न, मन्त्री वा प्रधानमन्त्री बन्ने उद्देश्यमा लागेर हिँडेको भन्ने लाग्छ भने त्यो भ्रम मात्र हो,’ लामिछानेले भने, ‘म जीवनी लेख्न हिँडेको होइन, इन्ट्रेस्ट पनि छैन, बरु इतिहास लेख्न हिँडेको हो ।’

उनले रास्वपाका सांसदहरूलाई पनि व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि उठेर काम गर्न आग्रह गरे । उनका अनुसार राजनीति पद, जिम्मेवारी वा व्यक्तिगत लाभका लागि होइन, देश परिवर्तनका लागि हुनुपर्छ ।

लामिछानेले रास्वपाले चुनावमा प्राप्त गरेको जनमतलाई ‘नयाँ राजनीतिक अध्यायको सुरुवात’ भएको रूपमा व्याख्या गरे । पुराना राजनीतिक दलहरूको तुलनामा रास्वपा छोटो समयमै जनताको विश्वास लिएर अघि बढेको उनले बताए ।

उनले थपे, ‘पुराना दलहरूले जस्तो ठूलो सङ्घर्ष हामीले अहिले गर्नुपरेको छैन, तर यसको अर्थ हामी सजिलो बाटोमा छौँ भन्ने होइन, जिम्मेवारी अझ ठूलो छ ।’

सभापति लामिछानेले पार्टीका सांसदहरूलाई आगामी पाँच वर्ष कानुन निर्माण र नीति सुधारमा केन्द्रित भएर काम गर्न निर्देशन दिए । उनले कतिपय नेताहरूले व्यक्तिगत पद र जिम्मेवारीको अपेक्षा गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै अहिले नै व्यक्तिगत योगदानको मूल्य माग्ने समय नभएको स्पष्ट पारे ।

उनका अनुसार पार्टीभित्र गुनासोभन्दा पनि काममा ध्यान दिनु आवश्यक छ र जनताको अपेक्षा पूरा गर्नु नै प्रमुख जिम्मेवारी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *