`

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

Nepal One HD २८ वैशाख २०८३ १९:५३
अर्थ समाचार

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्यवस्तु, दाल तथा गेडागुडी र मरमसलाको मूल्यवृद्धि घटेको देखिएको छ ।चालु आर्थिक वर्ष २०८२/०८३ को चैत मसान्तमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.३९ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ४.०१ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ ।आर्थिक वर्ष २०८२/०८३ को नौ महिनाको औसत मुदास्फीति २.३९ प्रतिशत रहेको पनि राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.५७ प्रतिशत रहेको थियो ।

गत चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यु तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.८७, फलफूलको ११.६७, तरकारीको ९.१८ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २‍.७८, खाद्य तथा खाद्यजन्य पदार्थको १.६८ र मरमसलाको १.६४ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १९.९४, यातायातको १२.०३, शिक्षाको ७. ४६, मदिराजन्य पेय पदार्थको ४.७७ र कपडा तथा जुत्ताचप्पलको ४.७३ प्रतिशतले बढेको छ ।त्यस्तै, गत चैतमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.७१ प्रतिशतले र शहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.७४ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *