‘हठी र अमर्यादित’ प्रधानमन्त्री बालेन कोसँग जवाफदेही ?
काठमाडौं । संसदीय प्रणालीमा प्रधानमन्त्री सरकारको प्रमुख मात्र होइन, संसदप्रति जवाफदेही हुनुपर्ने सर्वाेच्च अधिकारी पनि हुन् । प्रधानमन्त्री बालेन यसबाट भागिरहेका छन् ।
यस्ताेमा उनीप्रति प्रश्न उठिरहेकाे छ- प्रधानमन्त्री बालेन संसदप्रति जवाफदेही नहुने हो भने को प्रति जवाफदेही ?
बुधबार सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरू छल्न उनी प्रतिनिधिसभा बैठकमा अनुपस्थित भए । अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जवाफ दिन अख्तियारी दिए । विपक्षी दलहरुले स्वीकारेनन् ।
सभामुख डीपी अर्यालले तीन पटकसम्म बैठक स्थगित गरे । तर विपक्षी दलहरुकाे बटमलाइन रह्याे- ‘प्रधानमन्त्रीले नै जवाफ दिनुपर्छ । बाँकी जान्दैनाैँ ।’
यसपछि बैठक बिहीबार बिहान ११ बजे बस्नेगरी सभामुख अर्यालले स्थगित गरे। संसदीय अभ्यास, शिष्टाचार र संवैधानिक उत्तरदायित्वकाविपरीतका गतिविधिले आलाेचना चुलिँदा बालेन बिहीबारकाे बैठकमा सहभागी हुने कुनै निश्चत छैन ।
संविधानको धारा ७६(१०) मा छ, ‘प्रधानमन्त्री र मन्त्रिपरिषद सामूहिक रूपमा संघीय संसदप्रति उत्तरदायी हुन्छन्।’
यसले कार्यकारी प्रमुखले संसदसँग प्रत्यक्ष संवाद, स्पष्टीकरण र जवाफ दिने परम्परालाई अनिवार्य रूपमा स्थापित गरेको छ।
तर, प्रधानमन्त्री शाहले लगातार दोस्रो अधिवेशनसम्म पनि एक शब्द नबोलेका, राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नीति तथा कार्यक्रम वाचन भइरहँदा बैठक छाडेर निस्केका र अन्ततः आफैं टेबल गरेको नीति तथा कार्यक्रममा उठेका प्रश्नमै जवाफ नदिने घोषणा गरेपछि उनी संसदप्रति उत्तरदायित्व निर्वाह गर्नै नचाहने पात्रका रूपमा देखिन थालेका छन् ।
संसद सचिवालयका पूर्वमहासचिव मनोहरप्रसाद भट्टराईका अनुसार प्रधानमन्त्रीले संसदमा उठेको प्रश्नको जवाफ नदिनुले उनी संसदप्रति उत्तरदायी नभएको ठहरिन्छन् ।
प्रधानमन्त्री बालेनको पछिल्लो राजनीतिक व्यवहारले चारवटा प्रश्नहरू उठाएको देखिन्छ ।
पहिलाे, प्रधानमन्त्रीले संसदमा जवाफ किन नदिने ? सामाजिक सञ्जालमार्फत जनतासँग प्रत्यक्ष संवाद गर्ने प्रवृत्ति प्रधानमन्त्री शाहको राजनीतिक रणनीति हो कि कार्यशैलीको कमजोरी ? यो अझै स्पष्ट छैन। यसले न लोकतान्त्रिक संस्थालाई मजबुत बनाउँछ, न स्थायी नीति निर्णयको आधार निर्माण गर्छ।
दाेस्राे, प्रधानमन्त्री बालेन आफ्ना समर्थकहरूसँग मात्र जवाफदेही हुने ?
तेस्राे, संसदमा नबोल्ने, प्रश्नको जवाफ नदिने, परम्परा नमान्ने, राष्ट्रपतिकाे सम्बोधनका बीच बैठक छोडेर निस्कने, अनौपचारिक पोसाकमा सदनमा उपस्थित हुने उनका याे शैली कतै निरङ्कुशताकाे पहिलाे पाइला त हाेइन ?
तर, विगत हेर्ने हाे भने प्रधानमन्त्रीहरू सदनप्रति कठिन अवस्थामा पनि जवाफदेही भएकाे इतिहास छ । जस्ताे : प्रधानमन्त्री मनमोहन अधिकारीले २०५२ सालमा हेलिकप्टर दुर्घटनामा परेर अस्पतालमै रहेका बेला अविश्वास प्रस्तावमा प्रत्यक्ष जवाफ दिएका थिए ।२०६३ मा तत्कालीन गिरिजाप्रसाद कोइराला बोल्न नसक्ने अवस्थामासमेत संसद आए र सभामुख सुवास नेम्वाङले ‘म्याग्नाकार्टा’ घोषणा वाचन गरे।
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य गम्भीर हुँदा पनि कुर्सीमै बसेर सांसदहरूको प्रश्नको जवाफ दिन्थे। यी दृष्टान्तहरु धेरै पुरानाे हाेइन ।
तर, प्रधानमन्त्री शाहले अघिल्लो अधिवेशनमा एक शब्द नबोल्नु, यसपटक पनि निरन्तर मौन बस्नु, अझ नीति कार्यक्रम वाचनका बेला बीचमै बैठक छोड्नु र अहिले नीति कार्यक्रमबारे उठेका प्रश्नहरुकाे जवाफ दिनबाट भाग्नु संसदप्रतिकाे अवहेलना हाे । अपमान हाे । मानमर्दन हाे ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमै ‘रूलिङ’ गरेर प्रधानमन्त्रीलाई बोलाउन माग गरिसकेको छ। प्रमुख प्रतिपक्षी नेता भीष्मराज आङ्देम्बेले नीति कार्यक्रममा प्रधानमन्त्री अनिवार्य हुनुपर्ने बताए । नभए बैठक चल्न नदिने अडान लिए । अन्य विपक्षी दलहरुकाे अडान पनि यस्तै रहे । यसले सदनमा गतिराेध निम्तिने देखिएकाे छ।
राजनीतिक विश्लेषकहरुका अनुसार प्रधानमन्त्री बालेनकाे यस्ताे कदमले जनताको तर्फबाट दिएको वैधानिक म्यान्डेट र संविधानले दिएको दायित्वसँगै लोकतन्त्रले दिएको नैतिक जिम्मेवारीलाई कमजोर पार्छन्।
