विश्व दूरसञ्चार तथा सूचना समाज दिवस : हिजोदेखि आजसम्म
काठमाडौं। आज ५४औँ विश्व दूरसञ्चार तथा सूचना समाज दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट अविकसित देशहरूलाई सशक्त बनाऔं’ भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू) का १९३ सदस्य राष्ट्रमा यो दिवस मनाएको हो ।
१७ मे १८६५ मा फ्रान्सको राजधानी पेरिसमा ‘इन्टरनेसनल टेलिग्राफ युनियन’ स्थापना भएको थियो । त्यसबेला २० संस्थापक राष्ट्रहरूले यसमा हस्ताक्षर गरेका थिए । पछि यो संगठन विस्तार र परिमार्जन हुँदै ‘इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) का रूपमा रूपान्तरण भएको हो । सोही ऐतिहासिक दिनलाई आधार मानेर सन् १९६९ देखि विश्व दूरसञ्चार दिवस मनाउन थालिएको हो ।
पछि संयुक्त राष्ट्रसंघको पहलमा सन् २००६ देखि यस दिनलाई विश्व सूचना समाज दिवसका रूपमा पनि थपेर मनाउन थालिएको हो । त्यसयता यो दिवसलाई केवल दूरसञ्चारको विकासको उत्सव मात्र नभई सूचना प्रविधिले समाज, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य र शासन प्रणालीमा पारेको प्रभावको समीक्षा गर्ने अवसरका रूपमा समेत लिइँदै आएको छ ।
सूचना तथा सञ्चार प्रविधिको विकासले विश्वलाई एकअर्कासँग जोड्दै भौगोलिक दूरी घटाएको छ । फोन, इन्टरनेट, सामाजिक सञ्जाल, डिजिटल सेवा तथा अनलाइन प्लेटफर्महरूले मानव जीवनको दैनिक गतिविधि मात्र होइन, सरकारी सेवा, व्यापार, शिक्षा र स्वास्थ्य प्रणालीलाई समेत डिजिटल रूपान्तरणतर्फ अग्रसर गराएका छन् ।
कोभिड-१९ महामारीको समयमा सूचना प्रविधिको महत्व झनै स्पष्ट भएको थियो । लकडाउनका बेला अनलाइन कक्षा, टेलिमेडिसिन, डिजिटल बैंकिङ,रिमोट वर्क तथा सूचना प्रवाहका माध्यमहरू जीवनको अत्यावश्यक हिस्सा बनेका थिए । त्यसपछि विश्वभर डिजिटल प्रविधिको प्रयोग अझ तीव्र रूपमा विस्तार भएको छ ।
अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू) ले विश्वभर दूरसञ्चार पूर्वाधार विस्तार,फ्रिक्वेन्सी व्यवस्थापन,डिजिटल पहुँच सुधार तथा नीतिगत समन्वयमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । पछिल्ला वर्षहरूमा आईटीयूको ध्यान केवल प्रविधिको पहुँचमा मात्र नभई यसको गुणस्तरीय प्रयोग, सुरक्षित इन्टरनेट वातावरण र डिजिटल समावेशीतामा केन्द्रित भएको देखिन्छ ।
विश्वमा अहिले पनि ‘डिजिटल डिभाइड’ अर्थात् प्रविधिमा पहुँच भएका र नभएका बीचको अन्तर एक ठूलो चुनौतीका रूपमा रहेको छ । यही असमानता हटाउँदै सबै नागरिकलाई समान डिजिटल पहुँच सुनिश्चित गर्न अन्तर्राष्ट्रिय संस्थाहरू सक्रिय रहेका छन् ।
संयुक्त राष्ट्रसंघले पनि सूचना तथा सञ्चार प्रविधिलाई दिगो विकास लक्ष्य हासिल गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिँदै आएको छ । विशेषगरी शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिक समावेशिता र सुशासनमा आईसीटीको प्रयोगलाई प्राथमिकतामा राखिएको छ ।
आईटीयूको पछिल्लो तथ्याङ्कअनुसार विश्व जनसंख्याको करिब ५.३ अर्ब अर्थात् ६६ प्रतिशत मानिस इन्टरनेट पहुँचमा पुगेका छन् । टेलिफोन सेवाको पहुँच भने लगभग विश्वव्यापी भइसकेको छ । मोबाइल सिम सब्सक्रिप्सनका आधारमा हेर्दा यो संख्या विश्व जनसंख्याभन्दा पनि बढी देखिन्छ ।
नेपालको सन्दर्भमा सूचना तथा सञ्चार प्रविधिको विकास उल्लेखनीय रूपमा अघि बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार देशमा हाल करिब ८९ प्रतिशत जनसंख्यामा इन्टरनेट पहुँच पुगेको छ । ग्रामीण क्षेत्रसम्म मोबाइल नेटवर्क र इन्टरनेट विस्तार भएपछि डिजिटल सेवाको प्रयोग बढ्दै गएको छ ।
नेपालमा सञ्चार प्रविधिको इतिहास सन् १९१३ मा काठमाडौंमा पहिलो टेलिफोन लाइन जडानबाट सुरु भएको मानिन्छ । त्यसयता रेडियो,टेलिभिजन, मोबाइल,इन्टरनेट हुँदै आजको डिजिटल युगसम्म आइपुग्दा सञ्चार क्षेत्रमा ठूलो परिवर्तन आएको छ ।
हाल डिजिटल नेपाल अभियान, ई-गभर्नेन्स,अनलाइन सेवा प्रणाली, डिजिटल बैंकिङ, ई-कमर्स र सामाजिक सञ्जालको प्रयोगले नेपाली समाज पनि क्रमशः सूचना प्रविधिमैत्री बन्दै गएको छ । तर ग्रामीण-शहरी, शिक्षित-अशिक्षित तथा पहुँच भएका र नभएका बीच अझै पनि डिजिटल विभाजन कायम रहेको विज्ञहरू बताउँछन् ।
संयुक्त राष्ट्रसंघ र आईटीयूले आगामी दिनमा पनि ‘कनेक्ट २०३०’ जस्ता योजनामार्फत सबै देशमा समान डिजिटल पहुँच, सुरक्षित इन्टरनेट वातावरण र दिगो डिजिटल विकासलाई प्राथमिकतामा राख्दै काम गरिरहेका छन् ।
