कति खतरनाक इबोला ?
काठमाडौं। विश्व स्वास्थ्य संगठनले कंगो लोकतान्त्रिक गणतन्त्रको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ।
जसले यस रोगलाई विश्वस्तरमै गम्भीर स्वास्थ्य जोखिमका रूपमा देखाएको छ। यद्यपि यसलाई विश्वव्यापी महामारीको मापदण्ड पूरा नगरेको बताइए पनि यसको स्थानीय र क्षेत्रीय स्तरमा फैलिने उच्च सम्भावना रहेको भन्दै चेतावनी दिइएको छ।
हालको रिपोर्टअनुसार करिब २४६ शंकास्पद केसहरू देखिएका छन् र करिब ८० जनाको मृत्यु भइसकेको छ। तर वास्तविक संक्रमण संख्या अझ बढी हुन सक्ने आशंका गरिएको छ। किनकि धेरै केसहरू रिपोर्ट नभएका वा दुर्गम क्षेत्रमा रहेका कारण पहिचान हुन नसकेको हुन सक्छ।
इबोला भाइरस रोग मानिसमा लाग्ने एक अत्यन्त गम्भीर र प्रायः घातक भाइरल संक्रमण हो। जुन अर्थोइबोलाभाइरस समूहका भाइरसहरूबाट हुन्छ र फिलोभिरिडे परिवारसँग सम्बन्धित हुन्छ। यसलाई विश्वकै सबैभन्दा खतरनाक भाइरल रोगमध्ये एक मानिन्छ। जसको मृत्यु दर धेरै उच्च हुन सक्छ।
यो रोग पहिलो पटक सन् १९७६ मा कंगो र सुडान क्षेत्रमा एकै समयमा देखिएको थियो। जहाँ कंगोको इबोला नदी नजिक देखिएको प्रकोपका कारण यसको नाम इबोला राखिएको हो।
हाल देखिएको प्रकोप बुन्डिबुग्यो भाइरससँग सम्बन्धित रहेको बताइएको छ। जसका लागि हालसम्म कुनै स्वीकृत खोप वा विशिष्ट औषधि उपलब्ध छैन, जसले नियन्त्रणलाई अझ जटिल बनाएको छ।
इबोला भाइरसको प्राकृतिक स्रोत फल खाने चमेरो मानिन्छ। र संक्रमित जनावरहरूको रगत, शरीरका तरल पदार्थ वा मासुसँग सम्पर्क हुँदा मानिसमा संक्रमण सर्न सक्छ। मानिसबाट मानिसमा यो रोग संक्रमित व्यक्तिको रगत, पसिना, बान्ता, दिसा वा अन्य शारीरिक तरल पदार्थसँग प्रत्यक्ष सम्पर्क हुँदा वा दूषित वस्तुहरूको प्रयोगबाट सर्छ।
इबोलाको इन्क्युबेसन अवधि २ देखि २१ दिनसम्म हुन सक्छ, र सुरुमा ज्वरो, कमजोरी, टाउको दुखाइ, मांसपेशी दुखाइ र घाँटी दुख्ने जस्ता लक्षणहरू देखिन्छन्। रोग बढ्दै जाँदा बान्ता, पखाला, पेट दुखाइ, छालामा दाग, कलेजो र मिर्गौलाको समस्या जस्ता जटिल लक्षणहरू देखा पर्न सक्छन्।
इबोला रोग किन खतरनाक छ भन्ने मुख्य कारण यसको उच्च मृत्यु दर, छिटो फैलिने क्षमता र प्रारम्भिक चरणमा अन्य रोगहरू जस्तै मलेरिया, टाइफाइड वा मेनिन्जाइटिससँग मिल्दोजुल्दो लक्षण देखिनु हो। जसले गर्दा समयमै पहिचान गर्न कठिन हुन्छ।
इबोलाको निदानका लागि रिभर्स ट्रान्सक्रिप्टेज पोलिमरेज चेन रियाक्सन, एन्टिबडी आधारित परीक्षण, एन्टिजेन परीक्षण र भाइरस आइसोलेसन जस्ता विधिहरू प्रयोग गरिन्छ। तर यी परीक्षणहरू उच्च जैविक सुरक्षा स्तर प्रयोगशालामा मात्र गर्न सकिन्छ।
इबोलाको उपचार मुख्य रूपमा सहयोगी हेरचाहमा आधारित हुन्छ। जसमा शरीरमा पानी र इलेक्ट्रोलाइट सन्तुलन राख्ने, पोषण दिने, ज्वरो र लक्षण नियन्त्रण गर्ने तथा अन्य संक्रमणहरूको उपचार गर्ने काम गरिन्छ। केही अवस्थामा मोनोक्लोनल एन्टिबडी जस्ता उपचारले बाँच्ने सम्भावना बढाउन सक्छ।
इबोला भाइरस रोगका केही प्रकारका लागि खोपहरू उपलब्ध छन्। तर सबै भाइरस प्रकारमा प्रभावकारी छैनन्। र हालको बुन्डिबुग्यो भाइरसका लागि खोप उपलब्ध छैन।
इबोला नियन्त्रणका लागि समुदायको सक्रिय सहभागिता अत्यन्त आवश्यक हुन्छ। जसमा संक्रमित व्यक्तिबाट दूरी कायम गर्ने, सम्पर्क ट्रेसिङ, २१ दिनसम्म निगरानी, सुरक्षित र मर्यादित अन्त्येष्टि, आइसोलेसन तथा जनचेतना फैलाउने कार्यहरू महत्वपूर्ण मानिन्छन्। सरसफाइ र स्वास्थ्य मापदण्ड पालना गर्नु पनि संक्रमण रोकथामका लागि अत्यन्त आवश्यक हुन्छ।
