काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले नेपाल बार एशोसिएशनले थालेको लाल्टिन आन्दोलनप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले बारको नेतृत्व र आन्दोलनको औचित्यमाथि प्रश्न उठाउँदै व्यङ्ग्य गरेका हुन् ।
न्यौपानेले नवोदित कानुन व्यवसायीका समस्या, गरिब तथा असहाय नागरिकले न्याय नपाउँदा बार मौन बसेको आरोप लगाए । उनले न्याय सम्पादनमा विचलन आउँदा, विवादास्पद फैसला हुँदा र भ्रष्टाचारका मुद्दा तामेलीमा जाँदा पनि बार नेतृत्व मौन रहेको टिप्पणी गरेका छन् ।
उनले राजनीतिक भागबन्डामा न्यायाधीश नियुक्ति हुँदा, कर्मचारीतन्त्रमा राजनीति हुँदा र पहुँचका आधारमा फैसला भएको चर्चा चल्दा पनि बारले आवाज नउठाएको उल्लेख गरे । अहिले भने लाल्टिन बोकेर आन्दोलनमा उत्रिनुलाई उनले ‘नाटक’को संज्ञा दिएका छन् ।
न्यौपानेले लेखेका छन्, ‘घर जलिसकेपछि धुवाँ देखेर बाल्टिन बोकी हिरो बन्न निस्किएको जस्तो शैली अहिले देखिएको छ ।’
उनले न्यायका नाममा राजनीति नगर्न आग्रह गर्दै लाल्टिन बाल्नै परे गरिबले न्याय नपाएको मुद्दामा, ढिलो न्यायका कारण जीवन प्रभावित भएका घटनामा र गलत फैसला भएर परिवार उजाडिएका ठाउँमा बाल्न चुनौती दिएका छन् ।
उनको भनाइमा न्यायपालिकाको सुधारका लागि संस्थागत पुनर्संरचना, छिटो र सुलभ न्याय तथा जिम्मेवार प्रणाली आवश्यक छ ।
न्यौपानेले न्यायपालिकाको स्वतन्त्रता र विश्वसनीयता जोगाउन वास्तविक सुधारको बहस आवश्यक रहेको पनि बताएका छन् ।
उनको पोस्ट जस्ताको त्यस्तै
के रे के रे ,लाल्टिन बाल्ने रे! अब हाँसौं कि रोऔं?
नवोदित कानुन व्यवसायीका पीडा देख्दा आँखा चिम्लिने बार, गरिब असहायले न्याय नपाउँदा कानमा तेल हालेर बस्ने बार, न्याय सम्पादनमा विचलन आउँदा मौन व्रत बस्ने बार, विवादास्पद फैसला आउँदा जिब्रो टोक्ने बार, भ्रष्टाचारका मुद्दा तामेलीमा जाँदा निद्रामा पर्ने बार, राजनीतिक कोटामा न्यायाधीश भर्ती हुँदा “सबै ठीक छ” भन्ने बार, कर्मचारीले राजनीति गर्दा चुप लाग्ने बार, भनसुन र पहुँचका भरमा फैसला भएको गाइँगुइँ चल्दा घाँटी सफा नगर्ने बार, गरिब वकिलको स्वास्थ्य बीमाको कुरा उठ्दा बाटो बदल्ने बार , आज अचानक लाल्टिन बोकेर न्याय बचाउन निस्कने रे!
अचम्म छ। समाजमा आगो लाग्दा इनार खोज्न ननिस्किने, घर जलिसकेपछि धुवाँ देखेर बाल्टिन बोकेर हिरो बन्न निस्किने शैली पनि कस्तो शैली हो!सामाजिक अभियन्ता बन्ने दाबी गर्ने, तर समाजका घाउमा कहिल्यै मल्हम नलगाउने। न्यायको पहरेदार भन्ने, तर अन्यायको चिच्याहट सुन्नेबित्तिकै मोबाइल साइलेंटमा राख्ने। अनि आज एकाएक लाल्टिन बोक्दै क्रान्तिको अभिनय!
लाल्टिन बाल्नै मन छ भने गरिबले न्याय नपाएको मुद्दामा बाल्नुस्।
ढिलो न्याय भएर मानिसको जीवन सकिएको ठाउँमा बाल्नुस्।
गलत फैसला भएर परिवार उजाडिएको ठाउँमा बाल्नुस्।
गलत निर्णय गर्नेको जिम्मेवारी नतोकिएको ठाउँमा बाल्नुस्।
न्याय खोज्दा नागरिकका जुत्ता च्यातिने अनि पहुँचवालाको फाइल लिफ्ट चढेर माथि पुग्ने प्रणालीमा बाल्नुस्।
नत्र भोलिदेखि जनताहरूले यसो नभनुन्
“यो न्यायको लाल्टिन होइन, अवसरको टर्च रहेछ। जति राजनीतिक हावा चल्यो, त्यतैको ब्याट्री हालेर बल्ने!”
न्यायपालिकालाई सुधार गर्नुपर्छ भने पुनर्संरचनाको कुरा गरौं, संस्थागत परिवर्तनको कुरा गरौं, नागरिकले छिटो र सुलभ न्याय पाउने व्यवस्था खोजौं। तर लाल्टिनलाई पनि राजनीति गर्ने औजार नबनाऔं। कम्तिमा आजको प्रतिनिधि सभामा न्यायालयको माया गर्ने स्वतन्त्र न्यायपालिका स्थापित गर्ने इच्छाशक्ति राख्ने र न्यायपालिकाको शिर उचो राख्नका लागि खबरदारी गर्ने कानुन व्यवसायीहरु छन् भन्ने कुरा नभुलौं।किनकि जनताले अब उज्यालो खोजेका छन्, उज्यालोको नाटक होइन। धन्यवाद जय देश जय न्यायालय।