`

रास्वपा नैतिक दबाबमा : मन्त्रीदेखि सांसदसम्म विवादको घेरामा

समिन बरुवाल ६ जेठ २०८३ १५:२४
फिचर

काठमाडौं । परिवर्तन, सुशासन र स्वच्छ राजनीतिको नारा बोकेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला आफ्नै नेता तथा मन्त्रीमाथि उठेका विवादका कारण दबाबमा परेको छ ।

पुराना दलको भ्रष्टाचार, अनियमितता र नैतिक विचलनमाथि चर्को आलोचना गर्दै आएको रास्वपाका सांसददेखि मन्त्रीसम्म विभिन्‍न प्रकरणमा तानिन थालेपछि पार्टीको राजनीतिक विश्‍वसनीयतामाथि प्रश्न उठ्न थालेको छ ।

छोटो समयमै नेपाली राजनीतिमा प्रभावशाली शक्ति बनेको रास्वपाले युवापुस्तामाझ ठूलो आशा जगाएको थियो । नयाँ अनुहारसँगै फरक राजनीतिक संस्कार दिने अपेक्षामा जनताले दिएको समर्थनले पार्टीलाई सत्ता राजनीतिमा बलियो स्थान दिलायो ।

तर, सरकार गठन भएको छोटो अवधिमै रास्वपाका मन्त्री र सांसदहरू विभिन्न विवादमा मुछिँदा पार्टीमाथि नैतिक दबाब बढेको छ ।

रास्वपा सभापति रवि लामिछाने स्वयं लामो समयदेखि विवादको केन्द्रमा छन् । उनीविरुद्ध नागरिकता विवाददेखि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छन् । गृहमन्त्री हुँदा शक्तिको दुरुपयोग गरेको आरोपसमेत उनीमाथि लागेको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले पदको दुरुपयोग गरी आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा संलग्न गराएको आरोपपछि राजीनामा दिनुपरेको अवस्था सिर्जना भयो ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतामाथि पनि सोही बोर्डमा पुनः नियुक्ति दिएको भन्दै आलोचना भयो । उनी यसअघि पनि ‘एमबीबीएस परीक्षा पास गराइदिन्छु’ भन्दै रकम ठगी गरेको आरोपमा विवादमा परेका थिए, यद्यपि अदालतबाट सफाइ पाएका थिए ।

जेन-जी आन्दोलनमार्फत राजनीतिमा उदाएका सुधन गुरुङ पनि विवादबाट जोगिन सकेनन् । गृहमन्त्री रहँदा उनले केही कम्पनीमा रहेको आफ्नो सेयर सम्पत्ति विवरणमा नदेखाएको आरोप लाग्यो । विवादित व्यवसायीसँगको सम्बन्धबारे आलोचना चर्किएपछि अन्ततः उनले पद छाड्नुपर्‍यो ।

रास्वपा सांसद जगदीश खरेलमाथि पनि स्मार्ट टेलिकमसँग सम्बन्धित बहुचर्चित आर्थिक प्रकरणमा नाम जोडिएको चर्चा छ । अर्कोतर्फ सांसदहरू केपी खनाल, जगतप्रसाद जोशी, सागर ढकाल, प्रशान्त उप्रेती तथा खडकराज पौडेलमाथि सार्वजनिक जग्गामा घर निर्माण गरेको विषयले प्रश्न उठेको छ ।

सांसद आशिका तामाङमाथि जर्मनीको स्थायी आवासीय अनुमति (पीआर) लिएको आरोप लागेपछि उनले आफू अस्थायी बसोबास अनुमति (टीआर) मा मात्रै रहेको स्पष्टिकरण दिएकी थिइन् । त्यस्तै सांसद कृष्णकुमार कार्कीमाथि एक विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप सार्वजनिक भएपछि थप विवाद सिर्जना भयो ।

रास्वपाको उदयमा सामाजिक सञ्जाल र युवा आन्दोलनको महत्वपूर्ण भूमिका थियो । आक्रामक भाषण, पुराना दलप्रतिको असन्तोष र परिवर्तनको एजेन्डामार्फत लोकप्रियता कमाएको पार्टी अहिले व्यवहारिक राजनीतिमा भने चुनौतीको सामना गरिरहेको देखिन्छ । सामाजिक सञ्जालमा चर्को अभिव्यक्ति दिने नेताहरू व्यवहारमा आलोचना र प्रश्नप्रति असहज देखिएको टिप्पणी हुन थालेको छ ।

यद्यपि रास्वपा समर्थकहरू भने पुराना राजनीतिक शक्तिले योजनाबद्ध रूपमा नयाँ दललाई कमजोर बनाउन विवाद सिर्जना गरिरहेको दाबी गर्छन् । उनीहरूका अनुसार परिवर्तनको प्रयास गर्ने शक्तिलाई विभिन्न आरोपमार्फत बदनाम गर्न खोजिएको हो ।

तर, राजनीतिक विश्लेषकहरूका अनुसार जनताले रास्वपालाई केवल नयाँ अनुहारका कारण नभई फरक राजनीतिक संस्कारको अपेक्षासहित समर्थन गरेका थिए ।

त्यसैले पार्टीका नेता र मन्त्रीहरूमाथि उठेका विवादले रास्वपाको नैतिक दाबीमाथि नै गम्भीर प्रश्न खडा गरेको छ । अब आत्मसमीक्षा र संगठनात्मक सुधारमार्फत विश्वसनीयता जोगाउने कि विवादकै घेरामा कमजोर बन्ने भन्ने चुनौती रास्वपाको नेतृत्वसामु देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *