बालेन सरकारसँग रास्वपाकाे काेशीका सांसदहरूकाे गुनासै गुनासा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र बालेन सरकार र पार्टी सञ्चालनबारे असन्तुष्टि बढ्न थालेकाे छ । रास्वपा सभापति रवि लामिछानेसँग शुक्रबार कोसी प्रदेशका सांसदहरूले बालेन सरकार, प्रधानमन्त्री तथा पार्टीभित्रको अवस्थाबारे खुलेर गुनासो गरेका छन्।
शुक्रबार भएकाे छलफलमा सहभागी सांसदहरूका अनुसार सभापति लामिछानेले सुरुमा नै सांसदहरूलाई निर्धक्क भएर धारणा राख्न आग्रह गरेका थिए। त्यसपछि सांसदहरूले मुख्यतः तीन विषयमा असन्तुष्टि व्यक्त गरेका थिए।
सांसदहरूको पहिलो गुनासो प्रधानमन्त्री बालेन शाह र मन्त्रीहरूको सचिवालयसँग सम्बन्धित थियो। जनताका समस्या र गुनासा लिएर जाँदा प्रधानमन्त्री तथा मन्त्रीहरूको सचिवालयले सुनुवाइ नगरेको उनीहरूको भनाइ थियो। सांसदहरूले आफूहरूलाई भेटघाट र समन्वयमा समेत कठिनाइ भएको बताएका थिए।
दोस्रो, सांसदहरूले सरकार र पार्टीबीच दूरी बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए। जनताले आफ्ना समस्या सांसदमार्फत सरकारसम्म पुर्याउन खोजे पनि मन्त्री र सचिवालयले बेवास्ता गर्दा आफूहरू नै आलोचित हुनुपरेको उनीहरूको भनाइ थियो। सरकारको कामकारबाही प्रभावकारी नभएको र संसदमा समेत सरकारको बचाउ गर्न कठिन भइरहेको सांसदहरूले बताएका थिए। उनीहरूले ‘सरकारलाई पार्टीले चलाउनुपर्ने’ धारणा समेत राखेका थिए।
तेस्रो विषय पार्टीभित्रको गुटबन्दीसँग सम्बन्धित थियो। महाधिवेशनको तयारीसँगै ‘नयाँ’ र ‘पुराना’ समूहबीच ध्रुवीकरण बढेको भन्दै सांसदहरूले सभापति लामिछानेको ध्यानाकर्षण गराएका थिए। पुराना नेता-कार्यकर्ताले क्षमताअनुसार भूमिका नपाएको गुनासो समेत उठाइएको थियो।
सांसदहरूको गुनासो सुनेपछि सभापति लामिछानेले प्रधानमन्त्रीसँग छलफल गरेर समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन्। साथै, संसद्मा सरकारको सार्वजनिक विरोध नगर्न पनि उनले सांसदहरूलाई आग्रह गरेका थिए।
