`

‘पठाओ’बाट अब ‘हेलिकप्टर’ बुक गर्न मिल्ने

Nepal One HD १४ जेठ २०८३ १४:२१
विज्ञान-प्रविधि

काठमाडौं। राइड सेयरिङ सेवाबाट सुरु भएर सुपर एपको रूपमा विस्तार हुँदै आएको पठाओ नेपालले अब मोबाइल एपमार्फत नै हेलिकप्टर बुक गर्न सकिने नयाँ सेवा ‘पठाओ हेली’ सञ्चालनमा ल्याएको छ।

सिम्रिक एयरलाइन्ससँगको सहकार्यमा सुरु गरिएको यो सेवामार्फत प्रयोगकर्ताले विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यका लागि सहज रूपमा हेलिकप्टर बुक गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

पठाओ नेपालका अनुसार कम्पनीको यात्रा राइड सेयरिङबाट सुरु भएर क्रमशः पार्सल डेलिभरी, फुड डेलिभरी र होम सर्भिस हुँदै अहिले हवाई सेवासम्म विस्तार भएको हो।

नयाँ सेवा थपिएसँगै पठाओलाई बहुआयामिक डिजिटल मोबिलिटी प्लेटफर्मका रूपमा विकास गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

नयाँ ‘पठाओ हेली’ सेवा प्रयोगकर्ताले पठाओ मोबाइल एप वा पठाओ हेलीको आधिकारिक वेबसाइटमार्फत प्रयोग गर्न सक्नेछन्। कम्पनीका अनुसार बुकिङ प्रक्रिया सरल बनाइएको छ र यात्रुहरूले अग्रिम मूल्य जानकारीसहित सेवा लिन सक्ने व्यवस्था गरिएको छ।

यो सेवाअन्तर्गत मुलुकका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरूमा हेलिकप्टर यात्रा गर्न सकिनेछ।

मुक्तिनाथ, गोसाइँकुण्ड, सगरमाथा आधार शिविर र अन्नपूर्ण आधार शिविरजस्ता स्थानहरूलाई प्राथमिक गन्तव्यका रूपमा समावेश गरिएको छ। कम्पनीका अनुसार एक पटकमा चारदेखि पाँच जना यात्रुले एउटै हेलिकप्टरमा यात्रा गर्न सक्नेछन्।

पठाओ नेपालले यो सेवा विशेषगरी तीर्थयात्रा, पारिवारिक भ्रमण, नवविवाहित दम्पतीको रमणीय यात्रा तथा छोटो समयमा उच्च हिमाली क्षेत्र घुम्न चाहने पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको जनाएको छ।

कम्पनीका अनुसार यसले पर्यटन क्षेत्रमा नयाँ सम्भावना थप्ने अपेक्षा गरिएको छ।

पठाओ नेपालका प्रबन्ध निर्देशक यशु थकालीले कम्पनीको दीर्घकालीन लक्ष्य डिजिटल अर्थतन्त्र विस्तार गर्नु रहेको बताएका छन्।

उनका अनुसार मोबिलिटी, पार्सल डेलिभरी, फुड डेलिभरी र इ-कमर्स सेवाहरूलाई एउटै प्लेटफर्ममा जोड्दै एकीकृत डिजिटल सेवा प्रणाली विकास गर्ने योजना अघि बढाइएको छ।

उनले नेपाल सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०८५ लाई समेत ध्यानमा राख्दै यस्तो सेवा विस्तार गरिएको बताए। उनका अनुसार प्रविधि र पर्यटनलाई जोडेर देशको डिजिटल अर्थतन्त्रलाई उल्लेख्य रूपमा विस्तार गर्न सकिने विश्वास कम्पनीले लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *