उपत्यकामा आतंक मच्चाउने ‘मोस्ट वान्टेड’ ‘गणेश कार्की’ को हुन् ?
काठमाडौं। काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा श्रृङ्खलाबद्ध डाँका चोरी, लुटपाट र आपराधिक गतिविधि सञ्चालन गर्दै आएका कुख्यात अभियुक्त गणेश कार्की अन्ततः प्रहरीको फन्दामा परेका छन्।
लामो समयदेखि ‘मोस्ट वान्टेड’ सूचीमा रहेका कार्कीलाई शनिबार राति जडिबुटी क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शनिबार बेलुका करिब साढे ९ बजे विशेष सूचनाको आधारमा कार्कीको खोजी गर्दै पुगेको प्रहरी टोलीले उनलाई जडिबुटी क्षेत्रमा फेला पारेको थियो।
पक्राउ गर्ने क्रममा उनले प्रहरीमाथि नै आक्रमणको प्रयास गरेपछि आत्मरक्षाका लागि प्रहरीले उनको बायाँ खुट्टामा गोली प्रहार गरेको जनाएको छ। हाल उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
कार्की पक्राउ पर्नुअघि शनिबार दिउँसो मात्रै सुकेधारा क्षेत्रमा भएको लुटपाट घटनामा संलग्न थिए। प्रहरीका अनुसार उनले इलाम घर भएका आफ्ना सहयोगी विष्णु खत्रीसँग मिलेर एक महिलाको अनुहारमा खुर्सानीको धुलो छर्किएर सुनको सिक्री र मोबाइल फोन लुटेका थिए। घटनापछि फरार भएका दुवैको खोजी सुरु गरिएको थियो।
सोही क्रममा खत्रीलाई दिउँसै पक्राउ गरिएको थियो भने मुख्य योजनाकार कार्की गएराति पक्राउ परेका हुन्।
प्रहरी अनुसन्धानले कार्कीको आपराधिक इतिहास निकै लामो रहेको देखाएको छ। उनीविरुद्ध दुई दशकअघिदेखि नै विभिन्न प्रकृतिका आपराधिक मुद्दा दर्ता भएका थिए। वि.सं. २०६४ सालमा प्रहरी वृत्त बौद्धमा अभद्र व्यवहार तथा बालाजु क्षेत्रमा हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता भएको अभिलेख छ।
सोही अवधिमा बौद्ध क्षेत्रमा भएको उमेश सिंह हत्याकाण्डमा दोषी ठहर भएपछि उनले कर्तव्य ज्यान मुद्दामा १० वर्ष जेल सजाय भुक्तान गरेका थिए।
जेल सजाय पूरा गरेपछि पनि उनी आपराधिक गतिविधिबाट टाढा रहेनन्। वि.सं. २०७८ सालमा चोरी तथा डाँका चोरीका घटनामा पुनः पक्राउ परेका कार्कीलाई अदालतले ६ वर्ष कैद सजाय सुनाएको थियो। तर केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेकै बेला भएको आन्दोलन र कारागारभित्रको अव्यवस्थाको मौका छोपेर उनी फरार भएका थिए।
कारागारबाट फरार भएपछि प्रहरीले उनलाई उच्च प्राथमिकताका साथ खोजी गरिरहेको थियो।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार करिब तीन महिनाअघि कपन क्षेत्रमा समेत उनलाई पक्राउ गर्ने प्रयास भएको थियो। तर त्यसबेला उनले प्रहरीको आँखामा खुर्सानीको धुलो छर्केर भाग्न सफल भएका थिए।
फरार रहँदै गर्दा कार्कीले काठमाडौंका विभिन्न क्षेत्रमा लुटपाट र चोरीका घटना निरन्तर सञ्चालन गरेको प्रहरीको दाबी छ। उनले गौशालास्थित एक बिजुली पसलमा चोरी गरेको, वैदेशिक रोजगारीका लागि हिँडेका व्यक्तिहरूलाई बाटोमै रोकेर नगद तथा मोबाइल लुटेको तथा विभिन्न स्थानमा आतंक फैलाएको अनुसन्धानबाट खुलेको छ।
यसबाहेक उनले पशुपति क्षेत्रमा आफूलाई सादा पोसाकको प्रहरी भएको भन्दै सर्वसाधारणलाई धम्क्याउने र रकम असुल्ने गरेको पनि अनुसन्धानमा देखिएको छ। विशेषगरी कमजोर अवस्था भएका व्यक्तिहरू, लागुऔषध दुर्व्यसनी तथा एक्लै हिँड्ने मानिसलाई निशाना बनाएर लुटपाट गर्ने उनको शैली रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार खुर्सानीको धुलो उनको प्रमुख हतियार बनेको थियो। लुटपाटका अधिकांश घटनामा उनले पीडितको आँखामा खुर्सानीको धुलो छर्केर प्रतिरोध गर्ने क्षमता कमजोर बनाउने र त्यसपछि नगद, मोबाइल तथा गरगहना लुटेर फरार हुने गरेका थिए।
लामो समयदेखि उपत्यकामा त्रासको पर्याय बनेका कार्की पक्राउ परेसँगै पछिल्ला महिनाहरूमा भएका विभिन्न चोरी, लुटपाट र डाँका सम्बन्धी घटनाको थप अनुसन्धान तीव्र बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीले उनका अन्य सम्भावित सहयोगी, आपराधिक सञ्जाल र फरार अवधिमा संलग्न घटनाहरूको समेत विस्तृत अनुसन्धान अघि बढाएको छ।
