चीन-अमेरिका प्रविधि तनाव : एआई चिप निर्यातमा ‘लुपहोल’ बन्द
एजेन्सी। अमेरिकी वाणिज्य विभागले चीनसँग सम्बन्धित कम्पनीहरूलाई लक्षित गर्दै एआई चिप निर्यात नियन्त्रणलाई थप कडा बनाएको छ।
आइतबार जारी गरिएको आकस्मिक निर्देशिकामार्फत चीन बाहिर रहेका चिनियाँ कम्पनीका सहायक संस्थाहरूले समेत अत्याधुनिक सेमिकन्डक्टर खरिद गर्न नपाउने गरी ‘लुपहोल’ बन्द गरिएको हो।
अमेरिकाले लामो समयदेखि चीनलाई उन्नत प्रविधि, विशेषगरी अत्याधुनिक चिप्स, पहुँचबाट टाढा राख्ने नीति अपनाउँदै आएको छ। तर मलेसियालगायत देशमा रहेका चिनियाँ एआई कम्पनीका सहायक संस्थाहरूले ती चिप्स वैकल्पिक बाटोबाट प्राप्त गरिरहेको आशङ्कासँगै यो कदम चालिएको बताइएको छ।
रोयटर्सले उल्लेख गरेको एक प्रतिवेदन सार्वजनिक भएपछि वाणिज्य विभागअन्तर्गतको ‘ब्युरो अफ इन्डस्ट्री एन्ड सेक्युरिटी’ (बीआईएस) ले तत्काल नयाँ निर्देशिका जारी गरेको हो। उक्त प्रतिवेदनमा अत्याधुनिक चिप्स निर्यातका लागि ‘चोर बाटो शान्त रूपमा खुला रहेको’ उल्लेख गरिएको थियो।
विश्लेषकहरूका अनुसार विगत एक वर्षमा यस प्रकारको मार्ग प्रयोग गरेर ठूलो मात्रामा चिप्स बाहिरिएको हुन सक्ने अनुमान गरिएको छ, जसको संख्या लाखौँसम्म हुन सक्ने बताइएको छ।
नयाँ नियमअनुसार अब चीनमा मुख्यालय रहेका तर अन्य देशमा सञ्चालनमा रहेका चिनियाँ कम्पनीका सहायक निकायहरूले पनि उन्नत चिप्स किन्नुअघि अमेरिकी निर्यात अनुमति लिनुपर्नेछ।
बीआईएसका प्रवक्ताले यो निर्देशन नयाँ नीति नभई सन् २०२३ देखि लागू निर्यात अनुमति प्रणालीलाई थप स्पष्ट पारिएको मात्र भएको बताएका छन्। उनले अमेरिकी प्रविधिको सुरक्षा सुनिश्चित गर्न निर्यात नियन्त्रण कडा रूपमा लागू गरिने पनि स्पष्ट पारे।
यसैबीच, अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका एक अधिकारीले नयाँ निर्देशिकाले कम्पनीको कार्यप्रणालीमा ठूलो असर नपार्ने प्रतिक्रिया दिएका छन्। तर अर्को प्रमुख कम्पनी एएमडीले भने यस विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।
यो कदमले अमेरिका-चीनबीचको प्रविधि प्रतिस्पर्धा र एआई चिप आपूर्ति शृंखलामा थप तनाव बढाउने अनुमान गरिएको छ।
