`

ग्याङ्ग बनाएर धम्की दिने २५ युवा पक्राउ

Nepal One HD १८ जेठ २०८३ १६:१६
अपराध

काठमाडौं। सामाजिक सञ्जालमार्फत विभिन्न ग्याङ्ग तथा समूहको नाम प्रयोग गर्दै समाजमा त्रास फैलाउने गतिविधिमा संलग्न २५ जना युवालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार ‘किङ अफ बालान’, ‘किङ अफ भगवानपुर’, ‘किङ अफ लहान’ र ‘किलर्स ब्रदर’ लगायत नामका समूह सञ्चालन गर्दै टिकटक, फेसबुक तथा अन्य सामाजिक सञ्जालमा धम्कीपूर्ण, अपशब्दयुक्त र उक्साहटपूर्ण सामग्री पोस्ट गर्ने कार्य भइरहेको थियो।

यस्ता समूहमा आबद्ध युवाहरूले ट्राफिक नियमको समेत व्यापक उल्लङ्घन गर्दै बिना हेल्मेट, बिना नम्बर प्लेट र आवश्यक कागजपत्रबिनै मोटरसाइकल चलाउने गरेका थिए।

कतिपय मोटरसाइकलमा तीनदेखि चार जनासम्म सवार भई सार्वजनिक सडकमा होहल्ला गर्ने र सामाजिक अशान्ति फैलाउने गतिविधि गरेको प्रहरीले जनाएको छ।

सिरहा-चोहर्वा सडकखण्डमा प्रहरीले गरेको नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकामध्ये १२ जना सप्तरीको बलान बिहुल गाउँपालिकाका, २ जना सिरहाको लहान नगरपालिकाका, ६ जना विष्णुपुर गाउँपालिकाका र ५ जना भगवानपुर गाउँपालिकाका रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट २१ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबैलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालमार्फत ग्याङ्ग संस्कृति फैलाउने, धम्की दिने तथा सार्वजनिक शान्ति भङ्ग गर्ने गतिविधिप्रति निगरानी बढाइएको भन्दै प्रहरीले यस्ता कार्यमा संलग्न नहुन युवाहरूलाई आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *