`

भारतलाई खुसी पार्ने बालेन बोलीपछि रविको हिन्दुस्तान टाइम्समा लेख

Nepal One HD १९ जेठ २०८३ ८:५७
बिशेष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणको क्रममा हिन्दुस्तान टाइम्समा एक लेख लेख्दै नेपाल अब ३० वर्षको राजनीतिक अस्थिरता र भ्रष्टाचारको चक्रबाट बाहिर निस्किएको दाबी गरेका छन् ।

उनले नेपाल ‘विकासको निर्णायक फड्को’ तर्फ अघि बढिरहेको बताए । शंकास्पद जेन-जी विद्रोहपछि भएको चुनावी परिणामलाई ‘जनताको मतबाट आएको शान्तिपूर्ण रूपान्तरण’ भन्दै व्याख्या गरेका छन् ।

उनले देश अब संघर्ष र अस्थिरताको अध्यायबाट बाहिर निस्केर सुशासन, परिणाममुखी नीति र विकास–केन्द्रित राजनीतिमा प्रवेश गरिरहेको दाबी गरेका छन् ।

विगत तीन दशकलाई अनिश्चितता, संस्थागत कमजोरी र भ्रष्टाचारले गाँजिएको अवधि भन्दै अब नेपालसँग ती कमजोरीहरू पार गर्दै नयाँ आर्थिक दिशा तय गर्ने ऐतिहासिक अवसर आएको र भारतसँग सहकार्य गर्न चाहेको बताए ।

लामिछानेले नेपाल-भारत सम्बन्धलाई पनि विकास–केन्द्रित दृष्टिकोणबाट पुनःपरिभाषित गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले दुवै देशलाई कूटनीतिक वा भू-राजनीतिक दृष्टिले मात्र होइन, सीमापार आर्थिक एकीकरण र साझा समृद्धिको आधारमा हेर्नुपर्ने तर्क गरे ।

उनका अनुसार रक्सौल-काठमाडौं रेलमार्ग, सीमापार ऊर्जा व्यापार, डिजिटल कनेक्टिभिटी, पर्यटन सर्किट, आईटी र शिक्षा क्षेत्रमा सहकार्यजस्ता परियोजनाले दुई देशबीचको सम्बन्धलाई नयाँ चरणमा पुर्‍याउन सक्छन् ।

लामिछानेले लेखमा नेपालले भारतको तीव्र आर्थिक रूपान्तरणबाट सिक्दै जलविद्युत्, डिजिटल अर्थतन्त्र र युवा–केन्द्रित नवप्रवर्तनमार्फत विकासको गति बढाउनुपर्नेमा जोड दिए ।

उनले नेपाललाई छिमेकी देश नभई क्षेत्रीय विकास साझेदारका रूपमा प्रस्तुत गर्नुपर्ने दृष्टिकोण राखेका छन् ।

लामिछानेले नेपाल–भारत सम्बन्धलाई हजारौं वर्ष पुरानो सभ्यताको साझेदारी भन्दै दुवै देशबीच विश्वास, पारदर्शिता र व्यावहारिक सहकार्य पुनःस्थापना गर्नुपर्नेमा जोड दिए ।

https://www.hindustantimes.com/india-news/how-can-an-aspirational-nepal-and-a-rising-india-reconnect-101780362877583.html


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *