`

विपक्षी दलको आज पनि राष्ट्रियसभा बैठक अवरुद्ध गर्ने तयारी

Nepal One HD २० जेठ २०८३ १२:४२
राजनीति

काठमाडौं। राष्ट्रियसभा बैठकमा विपक्षी दलहरूले आज पनि अवरोध गर्ने तयारी गरेका छन्।

यसअघि सोमबार र मंगलबारको बैठकमा समेत अवरोध गर्दै कार्यसूची अघि बढ्न नदिएका विपक्षी दलहरूले आजको बैठकलाई पनि अवरुद्ध गर्ने योजना बनाएका हुन्।

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रञ्जित कर्णका अनुसार, प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभामा नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने आशयमा दिएको अभिव्यक्ति ‘राष्ट्रघाती’ भएको भन्दै माफी माग्नुपर्ने माग राखिएको छ। सोही माग पूरा नभएसम्म बैठक अवरुद्ध गर्ने अडान विपक्षी दलहरूको रहेको उनले बताएका छन्।

राष्ट्रियसभामा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीसहितका दलहरू अवरोधमा उत्रिने तयारीमा छन्। राष्ट्रियसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भने छैनन्।

आजको बैठकको कार्यसूचीमा आगामी बजेटमाथिको छलफल रहेको छ।

तर विपक्षी अवरोधका कारण कार्यसूची अघि बढ्न सक्ने वा नसक्नेबारे अनिश्चित देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *