`

राम राम मात्रै भन्ने स्थितिमा राप्रपा

Nepal One HD २० जेठ २०८३ १८:५२
समाचार

काठमाडौं। अध्यक्ष राजेन्द्र लिङ्देन र नेता धवलशम्शेर जबराबीचको शक्ति संघर्ष अन्ततः राप्रपा विभाजनमा गएर टुंगिने भएको छ ।

एकातिर चुनावी हारपछि निराश भएका कतिपय नेता कार्यकर्ताले पार्टी धमाधम छाडिरहँदा अर्कातिर अध्यक्ष लिङ्देन आफूलाई पार्टी विधानभन्दा माथि रहेको ठान्दै आलोचना गर्ने नेताहरूलाई कारबाहीका डण्डा बर्साइरहेको बेला पार्टी अनौपचारिक रुपमा विभाजन भइसकेको छ ।

लिङ्देन स्वेच्छाचारी ढंगले अघि बढेको, विधानलाई बारम्बार कुल्चिएको, पार्टीको महाधिवेशन गर्न नचाहेको, पार्टीमा फरक मत राख्नेलाई भित्तामै पुर्‍याउने उनको शैलीको विरोध गर्दै आएका नेता जबराले एक विज्ञप्ति जारी गर्दै लिङ्देनको चिप्ला कुराको पछि नलाग्न समर्थकहरूलाई आग्रह गरेका छन् ।

मंगलबार लिङ्देन जबरालाई फकाउँदै यही जेठको चौथो साता केन्द्रीय समिति बैठक बस्ने र महाधिवेशनको मिति टुंगो लगाउने बताएका थिए । राप्रपाबाट अलग नहुन लिङ्देनको आग्रह थियो । भोलिपल्टै बुधबार जबराले भने लिङ्देनको शब्दजालमा नपरौँ भन्दै पार्टीपंक्तिलाई आग्रह गरेका छन् ।

यता राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अध्यक्ष लिङ्देन र जबराको चर्को विरोध गरेका छन् । उनले कहिल्यै मिल्न नसक्ने नेता भन्दै पार्टीपंक्तिलाई निराश भएर पार्टी नछाड्न र आगामी महाधिवेशनबाट पार्टीको सेट नै परिवर्तन गर्नुपर्ने बताएका छन् ।

हालै राप्रपाका तीन पूर्वअध्यक्षहरू पशुपतिशम्शेर राणा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीबाट अलग नहुन नेता धवलसहितलाई आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *