`

मधेस प्रदेश : करिब १६ प्रतिशत बालबालिका कुपोषणको शिकार

Nepal One HD २१ जेठ २०८३ ११:१३
जीवनशैली/स्वास्थ्य

काठमाडौं। मधेस प्रदेशमा करिब १६ प्रतिशत बालबालिका कुपोषणको समस्याबाट प्रभावित रहेको तथ्याङ्क सार्वजनिक भएको छ।

मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीका अनुसार अभियानमार्फत गरिएको परीक्षणबाट यस्तो अवस्था देखिएको हो। स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले प्रदेशका १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा सञ्चालन गरेको पोषण अवस्थासम्बन्धी परीक्षणमा दुई लाख ८३ हजार ३०८ बालबालिकाको स्वास्थ्य अवस्था मूल्याङ्कन गरिएको थियो।

उक्त परीक्षणअनुसार ३५ हजार ८८३ जना बालबालिका कुपोषित, आठ हजार ७७१ जना शीघ्र कुपोषित तथा दुई लाख ३३ हजार १८२ जना सामान्य अवस्थामा रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डअनुसार यस्तो अवस्था सङ्कटपूर्ण श्रेणीमा पर्ने बताइएको छ।

तथ्याङ्कअनुसार मधेस प्रदेशमा कुपोषित र शीघ्र कुपोषित बालबालिकाको सङ्ख्या ४४ हजार ६५४ पुगेको छ। यो सङ्ख्या परीक्षण गरिएका कुल बालबालिकामध्ये १५.७६ प्रतिशत रहेको छ।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरिबी, अशिक्षा, पोषणसम्बन्धी चेतनाको कमी, सरसफाइको अभाव तथा असन्तुलित खानपानका कारण प्रदेशमा कुपोषणको समस्या थप जटिल बन्दै गएको बताए।

यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, मधेस प्रदेशका प्रदेश सचिव डा. प्रमोद यादवले कृषि उत्पादनका हिसाबले सम्पन्न मानिने प्रदेशमा समेत बाल कुपोषणको उच्च दर देखिनु चिन्ताको विषय भएको उल्लेख गरे।

उपलब्ध विवरणअनुसार नेपालको कुल जनसङ्ख्याको झण्डै २२ प्रतिशत हिस्सा मधेस प्रदेशमा बसोबास गर्छ भने देशभर जन्मिने करिब २९ प्रतिशत बालबालिका यही प्रदेशमा जन्मिने गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *