एउटै मैदानमा उत्रँदै चार देशबाट चार दाजुभाइ
काठमाडौं। फुटबलको महामेला फिफा विश्वकप २०२६ नजिकिदै छ। विश्वकप,खेलाडीको क्षमता प्रदर्शन गर्ने मैदान मात्र नभएर देशको पहिचान संसारसामु चिनाउने माध्यम पनि हो।
यस पटकको विश्वकपमा यस्तै एउटा दुर्लभ र रोचक दृश्य देखिने भएको छ। जहाँ दुई परिवारका चार दाजुभाइ चार फरक राष्ट्रिय टोलीबाट मैदान उत्रने सम्भावना छ। विलियम्स परिवारका इनाकी विलियम्स र निको विलियम्स तथा डुए परिवारका गुएला डुए र डिजायर डुएले आ-आफ्नो फरक देशको जर्सी लगाएर खेल्ने तयारी गरिरहेका छन्।
इनाकी र निको विलियम्सको कथा आधुनिक आप्रवासी परिवारको संघर्षसँग जोडिएको छ। उनीहरूका बुबाआमा पश्चिम अफ्रिकी मुलुक घानाका नागरिक हुन्।
राम्रो भविष्यको खोजीमा उनीहरू सन् १९९० को दशकमा स्पेन पुगेका थिए। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार परिवारले निकै कठिन परिस्थितिको सामना गर्दै युरोपको यात्रा तय गरेको थियो। त्यही संघर्षको परिणामस्वरूप परिवारले स्पेनमा नयाँ जीवन सुरु गर्यो र त्यहीँ दुवै दाजुभाइ हुर्किए।
दाजु इनाकी विलियम्सको जन्म सन् १९९४ जुन १५ मा स्पेनको बिल्बाओमा भएको हो। उनले सानैदेखि एथलेटिक बिल्बाओको युवा एकेडेमीमा फुटबल सिके र पछि क्लबका मुख्य खेलाडी बने। उनको गति, शारीरिक क्षमता र निरन्तरताले उनलाई स्पेनकै उत्कृष्ट फरवार्डमध्ये एक बनायो।
उनले सन् २०१६ मा स्पेनको राष्ट्रिय टोलीबाट पहिलो खेल खेलेका थिए। तर फिफाको नियमअनुसार आधिकारिक प्रतिस्पर्धात्मक खेलमा स्थायी रूपमा आबद्ध नभएकाले उनले पछि राष्ट्रिय टोली परिवर्तन गर्ने अवसर पाए। सन् २०२२ मा उनले आफ्ना पुर्ख्यौली सम्बन्धलाई सम्मान गर्दै घानाबाट खेल्ने निर्णय गरे र त्यसयता घानाको राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य बनेका छन्।
भाइ निको विलियम्सको जन्म सन् २००२ जुलाई १२ मा भएको हो। उनी पनि एथलेटिक बिल्बाओकै एकेडेमीबाट अघि बढेका हुन्।
उत्कृष्ट ड्रिब्लिङ, तीव्र गति र आक्रमण क्षमताका कारण उनले कम उमेरमै स्पेनको सिनियर टोलीमा स्थान बनाए। युरोपेली फुटबलमा चम्किरहेका निकोले युरो २०२४ मा स्पेनलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। दाजुले पुर्ख्यौली भूमि रोज्दा भाइले आफू जन्मेर हुर्किएको देश स्पेनलाई आफ्नो अन्तर्राष्ट्रिय पहिचान बनाएका छन्।
यसैगरी डुए परिवारको कथा पनि आप्रवासनसँगै जोडिएको छ। परिवारको मूल सम्बन्ध पश्चिम अफ्रिकी राष्ट्र आइभोरी कोस्टसँग भए पनि उनीहरू फ्रान्समा बसोबास गर्न थालेपछि दुवै दाजुभाइ त्यहीँ हुर्किए।
दुवैले फ्रान्सेली क्लब रेनेसको एकेडेमीबाट आफ्नो फुटबल यात्रा सुरु गरेका थिए। सँगै अभ्यास गर्दै हुर्किएका उनीहरूले अन्तर्राष्ट्रिय फुटबलमा भने फरक बाटो रोजे।
दाजु गुएला डुए मुख्यतः रक्षापङ्क्तिमा खेल्ने खेलाडी हुन्। उनले आफ्नो पारिवारिक जरा र पुर्ख्यौली सम्बन्धलाई महत्व दिँदै आइभोरी कोस्टको राष्ट्रिय टोलीबाट खेल्ने निर्णय गरे। अर्कोतर्फ, भाइ डिजायर डुएले फ्रान्सको युवा टोलीहरू हुँदै सिनियर टोलीसम्म आफ्नो स्थान बनाएका छन्।
आक्रमण र मिडफिल्ड दुवै भूमिकामा प्रभावशाली खेल्न सक्ने उनी युरोपका सबैभन्दा प्रतिभाशाली युवा खेलाडीमध्ये एक मानिन्छन्।
यी दाजुभाइले फरक-फरक देशबाट खेल्न पाउनुको कारण फिफाको पात्रता नियम हो। फिफाअनुसार कुनै खेलाडी आफ्नो जन्मस्थान, बाबुआमा वा हजुरबा-हजुरआमाको नागरिकता तथा वंशजका आधारमा एकभन्दा बढी देशबाट खेल्न योग्य हुन सक्छ।
यही व्यवस्थाका कारण इनाकीले घाना रोज्न पाए भने निकोले स्पेनबाट खेल्ने निर्णय गरे। त्यस्तै गुएलाले आइभोरी कोस्ट र डिजायरले फ्रान्सलाई आफ्नो अन्तर्राष्ट्रिय टोलीका रूपमा छनोट गरे।
फुटबल इतिहासमा फरक राष्ट्रिय टोलीबाट खेलेका दाजुभाइका उदाहरण यसअघि पनि भेटिन्छन्। जेरोम बोआटेङले जर्मनी र उनका भाइ केभिन-प्रिन्स बोआटेङले घानाको प्रतिनिधित्व गरेका थिए। तर एउटै विश्वकप संस्करणमा दुई फरक परिवारका चार दाजुभाइ चार फरक राष्ट्रिय टोलीसँग जोडिनु भने अत्यन्तै दुर्लभ घटना मानिएको छ।
