बीवाईडी गाडी आयातबारे साइमेक्स इंक भन्छ – ‘कर छल्न खोजेको हैन’
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नेपाल भित्रिएका विद्युतीय सवारीसाधनबारे विभिन्न सञ्चार माध्यम र सार्वजनिक वृत्तमा प्रश्न तथा टिप्पणीहरू उठेपछि बीवाईडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंकले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
कम्पनीले कानुनको पूर्ण पालना, पारदर्शिता र नैतिक व्यवसायिक अभ्यासप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै आयातसम्बन्धी तथ्यगत विवरण सार्वजनिक गरेको छ। साइमेक्स इंकका अनुसार सबै सवारीसाधनहरू प्रचलित कानुनी प्रक्रिया पूरा गरेर मात्र नेपाल भित्र्याइएको हो।
कम्पनीले मुस्ताङको कोराला भन्सार र रसुवा भन्सारमार्फत गाडीहरू जाँचपास भएर आएको स्पष्ट पारेको छ। कोराला भन्सारमार्फत मे २२ देखि मे २७ सम्म चीनबाट निकासी घोषणा भई नेपाल भन्सारबाट जाँचपास भएका ६४९ वटा गाडी आयात भएको कम्पनीले जनाएको छ, जसमा एट्टो १ र एट्टो २ मोडलका सवारीसाधनहरू रहेका छन्।
त्यस्तै रसुवा भन्सारमार्फत मे ६ देखि मे २५ सम्म चीनतर्फको भन्सार घोषणा र मे १८ देखि मे २७ सम्म नेपालतर्फ जाँचपास प्रक्रिया पूरा गरी एट्टो १, एट्टो २, एट्टो ३ र सिलियन ७ मोडलका गरी ४७२ वटा गाडी आयात गरिएको कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार यी दुवै भन्सारबाहेकका २२६ वटा गाडी चीनतर्फको क्षेत्रमा आइपुगेका भए पनि तिनको नेपाल भन्सार जाँचपास प्रक्रिया हालसम्म सुरु वा सम्पन्न भएको छैन।
साइमेक्स इंकले यी सबै आयात कानुन, भन्सार नियम र स्थापित प्रक्रिया अनुसार नै भएको दाबी गर्दै कुनै पनि विशेष सुविधा, प्राथमिकता वा अनधिकृत प्रक्रिया प्रयोग नगरिएको स्पष्ट पारेको छ।
कम्पनीका अनुसार ग्राहकको पूर्व बुकिङ र बजार मागअनुसार तथा अन्तर्राष्ट्रिय आपूर्ति तालिका र ढुवानी व्यवस्थापनलाई ध्यानमा राखेर गाडी आयात गरिएको हो।
कम्पनीले कर परिवर्तनको लाभ उठाउने वा सरकारी निकायसँग मिलेमतो गरेर अनुचित फाइदा लिने भन्ने आरोपलाई पूर्ण रूपमा असत्य र निराधार भनेको छ।
साइमेक्स इंकले कुनै पनि सरकारी छानबिन वा अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने बताउँदै आवश्यक सबै आयात, भन्सार, ढुवानी र वित्तीय कागजातहरू उपलब्ध गराउन तयार रहेको जनाएको छ।
कम्पनीले तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गर्दै पुष्टि नभएका अनुमानका आधारमा भ्रम नफैलाउन सञ्चारमाध्यम र सरोकारवालालाई अनुरोध गरेको छ।
नेपालमा विद्युतीय सवारीसाधन प्रवर्द्धनले वातावरणीय लक्ष्य र इन्धन आयात घटाउन महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै कम्पनीले यस क्षेत्रमा विश्वास कायम राख्न तथ्यमा आधारित छलफल आवश्यक रहेको पनि जनाएको छ।
