विवादबीच गृहमन्त्रीमा गुरुङ पुनरागमनको प्रयासमा
विवादित व्यवसायी दिपक भट्टसँगको शेयर कारोबारमा अनियमितता रहेको आरोप लागेपछि तत्कालीन गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिए।
छानबिनको माग उठेपछि सरकारले लगत्तै छानबिन समिति गठन गर्यो। उक्त छानबिन समितिले प्रतिवेदन सरकारलाई बुझाएपछि गुरुङ अहिले फेरि गृहमन्त्रालयमा पुनरागमन गर्ने तयारीमा छन्। यसैका लागि प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री पद खाली राखेको चर्चा पनि हुने गरेको छ। तर, जनस्तरबाट छानबिन समिति घटना टार्न बनाइएको प्रतिक्रिया आइरहेका छन्।
यही विषयमा बोल्दै गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनको उद्घाटन सत्रमा उनले भने, ‘मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ। बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु।’
छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको भन्दै उनले आफूले पूर्ण रूपमा सफाइ पाउनेमा आशावादी रहेको बताए।
आफूले क्लिन चिट पाएर पुनः गृहमन्त्रीमा फर्किने सम्भावनाबारे उनले थपे, ‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामका लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला।’
गृहमन्त्रीबाट राजीनामा दिइसकेपछि गुरुङ विभिन्न विवादास्पद ठाउँहरूमा सहभागी भए। सशस्त्र प्रहरीको कार्यालय पुगेर प्रहरीलाई थर्काएको आरोप उनीमाथि छ। राजीनामा दिएकै भोलिपल्टबाट आफ्ना समर्थकहरूलाई उनले माइतीघरमा प्रदर्शनमा उतारे। छानबिनमा तानिएको एकजना व्यक्तिका लागि आफ्नै समर्थकलाई प्रदर्शनमा उतार्नु कत्तिको न्यायोचित हुन्छ ? त्यो पनि सत्ताधारी सांसदकै लागि।
त्यस्तै, केही दिनअघि मात्रै प्रधानमन्त्री बालेन्द्र शाहले संसदको रोस्ट्रमबाट दिएको अभिव्यक्तिविरुद्ध जेनजी युवाहरू भारतीय दूतावासअगाडि प्रदर्शनमा जुटे। त्यसपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्यो। पक्राउ परेर हिरासतमा पुगेका युवाहरूलाई पूर्वगृहमन्त्री गुरुङले हिरासतमै पुगेर थर्काए। धम्की दिए। चेतावनीको भाषा प्रयोग गरे। हिरासतमा बसेका युवाहरूका अनुसार उनीहरूलाई गुरुङले ‘यो अन्तिम चान्स हो, यसपछि सरकारविरुद्ध नबोल्नु’ भनेका थिए।
हिजो मात्रै टिकटकमा नेपाली ब्रो नामका व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका समाचारहरू सार्वजनिक भए। उक्त प्रकरणमा समेत पूर्वगृहमन्त्री गुरुङले प्रहरी कार्यालय पुगेर छानबिन प्रभावित पार्ने काम गरेको चर्चा छ।
त्यसअघि गुरुङ आफ्नै सचिवालयका कारणले विवादित बने। गृहमन्त्रीबाट राजीनामा दिए पनि उनको पूर्ववत् सचिवालयले गृहमन्त्रालय चलाइरहेको समाचार आए। जेम्स कार्की लगायतको टिमले कर्मचारीलाई हप्काईदप्काई गरेको आरोपहरू लागे। सुकुमवासी बस्ती भत्काउने क्रममा बल प्रयोग उनकै सचिवालयमार्फत भएको भनियो।
उनै विवादित गुरुङ फेरि गृहमन्त्रालयको चाबी प्राप्तिको प्रयत्नमा छन्। के गुरुङ यी सबै घटनाहरूको बीच फेरि गृहमन्त्री बन्लान् ?
