नेपाल-भारतबीच ‘क्रस बोर्डर पेमेन्ट’ सुरू
काठमाडौं । नेपाल र भारतबीच भएको ‘क्रस बोर्डर पेमेन्ट’ सम्झौता औपचारिक रूपमा कार्यान्वयनमा आएको छ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच भएको भेटवार्तापछि उक्त प्रणाली लागू गर्ने सहमति कार्यान्वयनमा आएको हो।
यो व्यवस्थासँगै अब दुवै देशका नागरिकले अनलाइन माध्यमबाट व्यक्तिगत रूपमा रकम आदानप्रदान गर्न सक्ने भएका छन्। प्रारम्भिक चरणमा भने सीमित बैंक तथा वित्तीय संस्थामार्फत मात्रै सेवा उपलब्ध गराइएको छ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)का अनुसार सेवा सञ्चालनमा रहेका वाणिज्य बैंकका ग्राहकले आफ्नो बैंकको मोबाइल बैंकिङ एप वा ‘कनेक्ट आईपीएस’ एप प्रयोग गरी भारतमा सिधै रकम पठाउन सक्नेछन्। यसका लागि बैंकहरूले आफ्ना मोबाइल एपमा ‘क्रस बोर्डर फण्ड ट्रान्सफर’ नामक सुविधा समावेश गरेका छन्।
रकम पठाउँदा प्राप्तकर्ताको बैंक खाता नम्बर वा मोबाइल नम्बरमा आधारित भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। यसले परम्परागत रेमिटेन्स प्रक्रिया भन्दा छिटो, सहज र कम झन्झटिलो सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।
भारततर्फ पनि हाल केही निश्चित बैंकहरूले मात्रै यो सुविधा सञ्चालनमा ल्याएका छन्। आगामी दिनमा थप बैंकहरू जोडिँदै जाने र सेवाको दायरा विस्तार गरिने जनाइएको छ।
यसैबीच, नबिल बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘एन बैंक’ मार्फत नेपाल–भारत–नेपाल रियल टाइम पर्सन-टु-पर्सन (पीटुपी) रेमिटेन्स सेवा सुरु गरिसकेको छ। यसअन्तर्गत नबिल बैंकमा खाता भएका ग्राहकहरूले मोबाइल एपबाटै भारतमा रहेका आफन्त, परिवार वा साथीभाइलाई रकम पठाउन सक्नेछन्। त्यस्तै, भारतबाट पनि नेपालमा रहेको नबिल बैंक खातामा प्रत्यक्ष रकम पठाउन सकिने सुविधा उपलब्ध भएको बैंकले जनाएको छ।
विशेषगरी अध्ययन, स्वास्थ्य उपचार, पारिवारिक खर्च तथा साना व्यक्तिगत कारोबारका लागि यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ। नेपाल र भारतबीच खुला सीमाना र घनिष्ठ जनस्तरको सम्बन्ध रहेको सन्दर्भमा यस्तो डिजिटल भुक्तानी प्रणालीले आर्थिक कारोबारलाई थप सरल, सुरक्षित र पारदर्शी बनाउने विश्वास गरिएको छ।
