`

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा भ्रष्टाचार र पक्षपातको आवरण बन्यो : एमाले महासचिव

Nepal One HD २७ जेठ २०८३ १०:५०
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उसले नेतृत्व गरेको सरकारमाथि तीव्र आलोचना गरेका छन्।

उनले रास्वपाको चर्चित नारा ‘जान्नेलाई छान्ने’ व्यवहारमा असफल भएको मात्र नभई भ्रष्टाचार, पक्षपात र स्वेच्छाचारिताको आवरण बनेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले ‘जान्नेलाई छान्ने’ भन्ने नाराको वास्तविकता एकपछि अर्को गर्दै उजागर भइरहेको बताएका छन्।

देशविरुद्धका घातलाई सामान्य ठान्ने, राज्यविरुद्धका विध्वंसात्मक गतिविधिलाई बहादुरीका रूपमा प्रस्तुत गर्ने तथा स्वार्थमा आधारित सेटिङलाई विधि र प्रक्रियाका रूपमा स्थापित गर्न खोजिएको उनको आरोप छ।

पोखरेलले अर्थ विधेयकजस्तो संवेदनशील दस्तावेजमा गैरकानुनी छेडखानी गर्ने, अवैध धनका स्रोतलाई प्रणालीको कमजोरी भन्दै ढाकछोप गर्ने, आफ्ना मानिसलाई विभिन्न उपाय अपनाएर उन्मुक्ति दिने र अरूलाई जसरी पनि दोषी देखाउन खोज्ने प्रवृत्ति सरकारमा देखिएको टिप्पणी गरेका छन्।

‘यदि यही कुरालाई ‘जान्नेलाई छान्ने’ भनिएको हो भने त्यो योग्यता होइन, पाखण्ड हो,’ पोखरेलले लेखेका छन्। उनका अनुसार यस्ता गतिविधिले स्वेच्छाचारिता, पक्षपात र भ्रष्टाचारलाई संस्थागत गर्ने काम गरिरहेका छन्।

उनले सुशासन र तीव्र विकासका लागि विगतका कमीकमजोरी सच्याउनु आवश्यक भए पनि त्यसका नाममा नयाँ कुकर्मलाई वैधता दिन नहुने बताएका छन्।

नयाँ शक्तिका रूपमा उदाएको दलबाट जनताले अपेक्षा गरेको परिवर्तन व्यवहारमा नदेखिएको उनको संकेत छ।

पोखरेलको यो टिप्पणीलाई रास्वपा नेतृत्वको सरकारमाथि एमालेले पछिल्लो समय गरिरहेको राजनीतिक आक्रमणको निरन्तरताका रूपमा हेरिएको छ।

एमालेले सरकारमाथि सुशासनको नारा दिएर राजनीतिक प्रतिशोध, पक्षपातपूर्ण निर्णय र कानुनी प्रक्रियाको दुरुपयोग गरेको आरोप लगाउँदै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *