एपोलो हाइड्रोपावरको सेयर : कतिमा भयो कारोबार ?
काठमाडौं। एपोलो हाइड्रोपावर लिमिटेडको सेयर कारोबार बुधवार देखि नेपाल स्टक एक्सचेन्जमा सुरु भएको छ।
विशेष प्रारम्भिक कारोबार सत्रमा कम्पनीको पहिलो सेयर कारोबार प्रतिकित्ता २९९ रुपैयाँ ७० पैसामा भएको हो। यही मूल्यलाई आधार मानेर नियमित कारोबार खुला गरिएको छ।
कम्पनीको सेयर ‘एपिएचएल’ सङ्केतमार्फत कारोबारमा आएको हो। यसअघि कम्पनीको सेयर सोमबार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो।
कम्पनीले सर्वसाधारणलाई जारी गरेको १४ लाख १० हजार कित्ता तथा संस्थापक लगानीकर्ताको स्वामित्वमा रहेको ३२ लाख ९० हजार कित्ता गरी कुल ४७ लाख कित्ता सेयर सूचीकृत गराएको छ।
पहिलो कारोबारका लागि नेपाल स्टक एक्सचेन्जले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको मूल्य सीमा निर्धारण गरेको थियो। नेपाल स्टक एक्सचेन्जले कम्पनीको प्रतिशेयर खुद सम्पत्तिको आधारमा पहिलो कारोबारका लागि तीन गुणासम्म मूल्य सीमा तोक्ने व्यवस्था छ।
कारोबार सुरु भएको केही समयमै कम्पनीको सेयर मूल्य २.९७ प्रतिशतले वृद्धि भई प्रतिकित्ता ३०८ रुपैयाँ ६० पैसासम्म पुगेको छ।
