बीवाईडी आयात : संसदीय छानबिन समिति गठन गर्न सांसद शाहीको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विद्युतीय सवारीसाधन (इभी) आयातसँग सम्बन्धित विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले इभी आयात प्रक्रियामा विभिन्न शङ्का उत्पन्न भएकाले संसदीय छानबिन आवश्यक रहेको बताएका हुन्।
उनले छानबिन समिति गठनको माग अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई काम गर्न नदिन नभई वास्तविकता स्पष्ट पार्नका लागि गरिएको जिकिर गरे।
शाहीका अनुसार जेठ १ गतेदेखि १४ गतेसम्म करिब ३ हजार सवारीसाधन आयात भएको तथ्यांक सार्वजनिक भएको छ। साथै जेठ १४ गते करसम्बन्धी निर्णय पारित भएपछि जेठ २१ गते नै सवारीसाधन भन्सार नाकाबाट भित्रिनुले थप शङ्का उत्पन्न गरेको उनको भनाइ छ।
‘१४ गते कर पास भएर २१ गते नाकाबाट गाडी भित्रनुलाई करका दर हेरफेर नभनेर के भन्ने ?’ शाहीले संसदमा प्रश्न गरे।
