`

को बन्ला रास्वपा लुम्बीनीको सभापति?

Nepal One HD २८ जेठ २०८३ १९:४०
बिशेष

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश अधिवेशन नजिकिँदै जाँदा नयाँ नेतृत्वका लागि नेताहरूको दौडधुप तीव्र बनेको छ। प्रदेश नेतृत्व आफ्नो पक्षमा पार्न विभिन्न आकांक्षीहरूले संगठनभित्र समर्थन जुटाउने प्रयास बढाएका छन्।

गत निर्वाचनमा लुम्बिनी प्रदेशका २६ संघीय निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा जित हासिल गरेको रास्वपाले प्रदेशमा आफ्नो प्रभाव कायम राख्न सक्ने सक्षम नेतृत्व चयन गर्ने तयारी गरेको छ। त्यसका लागि प्रदेश अध्यक्षदेखि पदाधिकारीसम्मका पदमा आकांक्षीहरू सक्रिय देखिएका छन्।

लुम्बिनी प्रदेशबाट पार्टीको केन्द्रीय पदाधिकारीमा प्रतिनिधित्व गर्ने सहमहामन्त्री विपिन आचार्यलाई प्रदेश राजनीतिमा प्रभावशाली व्यक्तिका रूपमा हेरिएको छ। सभापति रवि लामिछाने निकट मानिने आचार्यको प्रभाव प्रदेश अधिवेशनमा पनि रहने अनुमान नेताहरूको छ। यद्यपि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुने भएकाले प्रतिनिधिहरूको अन्तिम मत कसतर्फ जानेछ भन्ने स्पष्ट छैन।

प्रदेशका १२ जिल्लामध्ये ११ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ भने अब प्रदेश अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिनेछ। अधिकांश जिल्लामा नेतृत्व चयन निर्वाचनमार्फत भएकाले प्रदेश अधिवेशनमा पनि सर्वसम्मतको सम्भावना कमजोर देखिएको छ।

जिल्ला अधिवेशनका क्रममा पाल्पा, पश्चिम नवलपरासी र रोल्पाबाहेक अन्य जिल्लामा निर्वाचन भएको थियो। केही जिल्लामा रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) निकट समूहबीच अनौपचारिक प्यानलसमेत बनेका थिए। त्यसको प्रभाव प्रदेश अधिवेशनमा पनि देखिन सक्ने नेताहरूको आकलन छ।

जेठ ३० गते दाङको घोराहीमा हुने प्रदेश अधिवेशनको तयारी तीव्र पारिएको छ। अधिवेशनमा केन्द्रीय निर्वाचन समिति तथा दुई जना केन्द्रीय प्रतिनिधि सहभागी हुनेछन्।

नयाँ नेतृत्वका लागि वर्तमान सभापति तथा दाङ–१ का प्रतिनिधिसभा सदस्य देवराज पाठक, उपसभापति शालिकराम घिमिरे, केन्द्रीय संगठन विभाग सदस्य गोपाल घिमिरे, केन्द्रीय विभाग सदस्य मधु अर्याल, गणेश पौडेल, सांसद मञ्जु ज्ञवाली, बाँकेका डा. राजकुमार सुवेदी तथा प्रदेश महामन्त्री निलराज अधिकारी प्रमुख दाबेदारका रूपमा चर्चामा छन्।

यीमध्ये पाठक दाङका हुन् भने सुवेदी र अधिकारी बाँकेका हुन्। अन्य अधिकांश आकांक्षी रुपन्देही केन्द्रित राजनीतिमा सक्रिय छन्। पार्टीभित्र नेतृत्वको दाबीसँगै आगामी निर्वाचन तथा संगठन विस्तारलाई लक्षित गर्दै उनीहरू आफ्नो प्रभाव विस्तारमा जुटेका छन्।

रास्वपाले हालसम्म पूर्वी रुकुमबाहेक ११ जिल्लामा प्रथम जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ। पूर्वी रुकुममा केही संगठनात्मक प्रक्रिया बाँकी रहेकाले त्यहाँको अधिवेशन पछि हुने जनाइएको छ।

जिल्ला अधिवेशनहरू सम्पन्न भएसँगै अब रास्वपाको ध्यान लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनतर्फ केन्द्रित भएको छ। अधिवेशनले प्रदेश संगठनको भावी दिशा तय गर्ने भएकाले नेतृत्वको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *