विश्वकप : अर्को कीर्तिमानको मेसोमा ‘मेसी’
काठमाडौं। विश्व फुटबलमा केही यस्ता ऐतिहासिक नाम छन्। जसले खेललाई खेलको सीमाभित्र राखेनन्, बरु एउटा युगको रूपमा स्थापित गरे।
अर्जेन्टिनाका कप्तान लियोनेल मेसी त्यस्तै ऐतिहासिक नाम हुन्। जसले दुई दशकभन्दा लामो करिअरमा असम्भवजस्तै लाग्ने उपलब्धिहरू हासिल गर्दै आफूलाई सर्वकालीन महान् खेलाडीहरूको अग्रपंक्तिमा उभ्याएका छन्। अब, फिफा विश्वकप २०२६ मा उनी फेरि एकपटक इतिहासलाई चुनौती दिन तयार छन्।
सन् २००६ मा जर्मनीमा भएको विश्वकपबाट यात्रा सुरु गरेका मेसी अहिले आफ्नो छैटौं विश्वकप खेलिरहेका छन्। विश्व फुटबलमा यति लामो समयसम्म उच्च स्तरको प्रदर्शन कायम राख्नु आफैँमा दुर्लभ उपलब्धि हो। पाँच विश्वकप पार गरिसकेका मेसीले हालसम्म विश्वकपमा २६ खेल खेलिसकेका छन्, जुन प्रतियोगिताको इतिहासमै सर्वाधिक हो। उनले यसअघि जर्मनीका महान् खेलाडी लोथार म्याथाउसको २५ खेलको कीर्तिमान तोडिसकेका छन्।
तर मेसीको यात्रा केवल खेल संख्या बढाउनेमा सीमित छैन। उनी विश्वकप इतिहासका सबैभन्दा प्रभावशाली कप्तानमध्ये एकका रूपमा स्थापित भइसकेका छन्। विश्वकपमा कप्तानका रूपमा सर्वाधिक १९ खेल खेल्ने कीर्तिमान पनि उनकै नाममा छ। सन् २०१० देखि अर्जेन्टिनाको नेतृत्व सम्हाल्न थालेका उनले लगातार तीन विश्वकपमा टोलीलाई अगुवाइ गरेका छन्।
विश्वकपमा मेसीको प्रभाव केवल नेतृत्वमा मात्र देखिँदैन। उनले प्रतियोगितामा १३ गोल गरिसकेका छन् र विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताहरूको सूचीमा शीर्ष स्थान नजिक छन्। जर्मनीका मिरोस्लाभ क्लोजेको नाममा रहेको १६ गोलको कीर्तिमानभन्दा उनी केवल तीन गोलले पछाडि छन्। विश्वकप २०२६ मा अर्जेन्टिना लामो यात्रा गर्न सफल भएमा मेसीले यो कीर्तिमानसमेत तोड्ने सम्भावना रहेको विश्लेषकहरू बताउँछन्।
मेसीको विश्वकप यात्रा उतारचढावले भरिएको छ। सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा उनले अर्जेन्टिनालाई फाइनलसम्म पुर्याए पनि जर्मनीसँग पराजित भएपछि उपाधि सपना अधुरै रह्यो। त्यसपछि धेरैले उनको अन्तर्राष्ट्रिय करिअर समाप्तितर्फ उन्मुख भएको अनुमान गरेका थिए। तर मेसीले हार मानेनन्। उनले आफ्नो देशका लागि खेल्न जारी राखे र अन्ततः सन् २०२२ को कतार विश्वकपमा अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वविजेता बनाउँदै करिअरको सबैभन्दा ठूलो उपलब्धि हासिल गरे।
कतार विश्वकप मेसीका लागि केवल उपाधि जित्ने प्रतियोगिता थिएन। त्यो विश्व फुटबलले एक महान् खेलाडीलाई दिएको सम्मान थियो। प्रतियोगिताभर सात गोल गर्दै उनले कप्तानका रूपमा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसमेत बनाए।
उनको नाममा विश्वकपका अन्य थुप्रै उपलब्धिहरू पनि छन्। सर्वाधिक खेल, सर्वाधिक मिनेट, सर्वाधिक म्यान अफ द म्याच पुरस्कार तथा अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान मेसीकै नाममा रहेको छ।
फुटबल इतिहासमा धेरै महान् खेलाडीहरू जन्मिए। पेले, डिएगो म्याराडोना, जोहान क्रुइफ, जिनेदिन जिदान, रोनाल्डो नाजारियो र क्रिस्टियानो रोनाल्डोजस्ता नामहरू सधैं स्मरणीय रहनेछन्। तर मेसीको विशेषता के हो भने उनले व्यक्तिगत सफलता र टोलीको सफलतालाई एकैसाथ उच्चतम स्तरमा पुर्याउन सफल भएका छन्। सात पटकको बालोन डी’ओर विजेता मेसीले क्लब र देश दुवैका लागि लगभग सबै सम्भावित उपाधि जितिसकेका छन्।
विश्वकप २०२६ अर्जेन्टिनाका लागि उपाधि रक्षा गर्ने अवसर मात्र होइन, मेसीका लागि आफ्नो विरासतलाई अझ बलियो बनाउने अवसर पनि हो। अहिले ३९ वर्षको उमेर नजिक पुगेका मेसी सम्भवतः आफ्नो अन्तिम विश्वकप खेलिरहेका छन्। त्यसैले विश्वभरका फुटबल समर्थकहरूले यस प्रतियोगितालाई उनको ‘लास्ट डान्स’ का रूपमा पनि हेरिरहेका छन्।
यदि अर्जेन्टिनाले पुनः उत्कृष्ट प्रदर्शन गर्न सफल भयो भने मेसीका नाममा थप नयाँ कीर्तिमानहरू थपिने सम्भावना बलियो छ।
