पोखरामा रास्वपा अधिवेशनस्थल बाहिर ‘जेन्जी आन्दोलन’ पक्षको शान्तिपूर्ण धर्ना(तस्बिरहरु)
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश अधिवेशन पोखरा सभागृहमा चलिरहँदा बाहिर ‘जेन्जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह’ ले शान्तिपूर्ण धर्ना दिएको छ।
आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दा फिर्ता गर्नुपर्ने मागसहित समूहले सभागृहको मुख्य प्रवेशद्वार अगाडि प्रदर्शन गरेको हो। उनीहरूले प्लेकार्डसहित नाराबाजी गर्दै पक्राउ परेका युवाहरूलाई न्याय दिन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
प्रदर्शनकारीहरूले आन्दोलनका क्रममा लगाइएका मुद्दा राजनीतिक पूर्वाग्रहमा आधारित भएको दाबी गर्दै ती मुद्दा तत्काल फिर्ता लिनुपर्ने माग राखेका छन्। साथै, अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण आन्दोलनको अधिकार र नागरिक अधिकारको सम्मान सुनिश्चित गर्नुपर्ने उनीहरूको भनाइ छ।
धर्नामा सहभागीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै न्याय र मुद्दा फिर्ताको पक्षमा आवाज उठाएका थिए।
रास्वपाको प्रदेश अधिवेशन चलिरहेका बेला भएको उक्त धर्ना शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ। सुरक्षा व्यवस्था कडा पारिए पनि धर्नाले अधिवेशनको गतिविधिमा कुनै अवरोध नगरेको बताइएको छ।
दबाब समूहले आफ्ना मागप्रति सम्बोधन नभए आगामी दिनमा थप दबाबमूलक कार्यक्रम घोषणा गर्न सकिने चेतावनीसमेत दिएको छ।














