रास्वपा बागमतीको नेतृत्वका लागि चुनाव हुने, यी हुन् प्रतिष्पर्धी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि प्यानलगत प्रतिस्पर्धा हुने संकेत देखिएको छ। प्रदेश नेताहरूले विभिन्न समूह बनाएर आन्तरिक छलफल तीव्र पारेका छन्।
अधिवेशनको पहिलो चरणअन्तर्गत शनिबार मतदान हुने तय गरिएको छ। मकवानपुरको हेटौंडामा जेठ २६ गते उद्घाटन भएको अधिवेशन मतदान प्रक्रिया सुरु नगरी स्थगित भएपछि काठमाडौंमा सारिएको हो। अब मतदान भोलि (जेठ ३० गते) हुने कार्यक्रम छ।
प्रदेश सभापति पदका लागि डा. अच्युतम लामिछाने, उत्सव अर्याल, हरिबहादुर खत्री र कृष्णमान श्रेष्ठले उम्मेदवारी दिएका छन्। सभापति पदका आकांक्षी बदन भण्डारीले भने उम्मेदवारी दर्ता गरेका छैनन्।
पार्टीभित्रको आन्तरिक छलफलअनुसार डा. लामिछाने र उत्सव अर्यालबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। लामिछाने वर्तमान सभापति हुन् भने अर्याल प्रवक्ता हुन्। स्रोतका अनुसार अच्युतम लामिछाने र बदन भण्डारीबीच अघोषित सहमति बनेको चर्चा पनि छ, जसअनुसार लामिछाने सभापति निर्वाचित भएमा पदाधिकारीमा बदन भण्डारीलाई जिम्मेवारी दिने समझदारी भएको बताइन्छ।
त्यस्तै, उपसभापति पदका लागि डा. रमेश ढकाल र हाल सहमहामन्त्री रहेकी राधिका तिमिल्सिना आकांक्षी छन्। कोषाध्यक्ष पदमा रहेकी मेनुका ठकुरी भने महामन्त्री पदका लागि दाबी गर्दै छन्।
रास्वपाको विधानअनुसार पहिलो चरणमा प्रदेश सभापति र प्रदेश सदस्यको निर्वाचन हुन्छ भने दोस्रो चरणमा पदाधिकारी चयनका लागि छुट्टै मतदान गर्नुपर्ने व्यवस्था छ। सभापति पदमा निर्वाचित हुन कुल सदर मतको ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ। कुनै पनि उम्मेदवारले बहुमत नपाएमा पहिलो र दोस्रो स्थानमा रहेका उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ।
निर्वाचन आयोगका अनुसार प्रदेश अधिवेशनका लागि १,३०० भन्दा बढी प्रतिनिधि छनोट भएका छन्। पार्टी समायोजन प्रक्रियाका क्रममा करिब ४०० प्रतिनिधिविरुद्ध उजुरी परेपछि विवाद समाधानका लागि मतदानको समय केही पछि सारिएको हो। मतदान विद्युतीय प्रणालीमार्फत हुने जनाइएको छ।
