ट्रम्प प्रशासनले किन बन्द गरायो एन्थ्रोपिकका एआई मोडेल ?
एजेन्सी। अमेजन कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन्डी जसी यसै साता एन्थ्रोपिकका अत्याधुनिक एआई मोडेलहरूमा देखिएका सुरक्षा जोखिमबारे ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरूलाई सचेत गराउने प्रविधि क्षेत्रका नेतामध्ये एक रहेको बताइएको छ ।
यो विषयसँग परिचित एक व्यक्तिका अनुसार जसीको संलग्नतापछि राष्ट्रपति डोनल्ड ट्रम्प नेतृत्वको प्रशासनले जारी गरेको राष्ट्रिय सुरक्षा आदेशका कारण एन्थ्रोपिकले आफ्ना पछिल्ला एआई मोडेलहरू विश्वभर बन्द गर्ने असाधारण निर्णय गरेको हो ।
सान फ्रान्सिस्कोस्थित एआई स्टार्टअप एन्थ्रोपिकले यसअघि नै आफ्नो ‘मिथोस’ मोडेलमा ह्याकिङ क्षमतासम्बन्धी सुरक्षा जोखिम रहेको चेतावनी दिएको थियो र त्यसलाई व्यापक सार्वजनिक प्रयोगबाट सीमित राखेको थियो । तर यसै हप्ताको सुरुमा कम्पनीले साइबर सुरक्षासम्बन्धी अतिरिक्त सुरक्षा उपायसहित ‘फेबल’ नामक सार्वजनिक संस्करण जारी गरेको थियो ।
तर उक्त मोडेलको सार्वजनिक पहुँच निकै छोटो समयमै समाप्त भएको छ । कम्पनीले आफ्नो ब्लग पोस्टमार्फत अमेरिकी सरकारबाट आएको सुरक्षा चिन्तापछि मोडेलको सुरक्षा प्रणाली बाइपास हुन सक्ने जोखिम देखिएको जनाएको छ ।
एन्थ्रोपिकका अनुसार उक्त बाइपासले सामान्य साइबर कमजोरीहरू पत्ता लगाउन सक्ने क्षमता मात्र देखाए पनि सुरक्षा दृष्टिले जोखिमपूर्ण मानिएको छ । त्यसपछि कम्पनीले ‘फेबल ५’ र ‘मिथोस ५’ मोडेलहरूमा विश्वभरका प्रयोगकर्ताको पहुँच बन्द गरेको हो ।
अमेजनले एन्थ्रोपिकका मोडेलबारे सरकारी अधिकारीहरूसँग छलफल भएको वा नभएको स्पष्ट पुष्टि गरेको छैन । अमेजनका प्रवक्ताले भने ठूला क्लाउड सेवा प्रदायकका रूपमा सम्भावित सुरक्षा जोखिमबारे सरकारसँग परामर्श हुनु असामान्य नभएको तर त्यस्ता छलफलको विवरण सार्वजनिक नगरिने बताएका छन् ।
यसैबीच अमेरिकी सरकारले यस विषयलाई निर्यात नियन्त्रणको रूपमा अघि बढाएको बताइएको छ । वाणिज्य विभागअन्तर्गतको ब्युरो अफ इन्डस्ट्री एन्ड सेक्युरिटीले भने यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
ह्वाइट हाउसका एआई सल्लाहकार डेभिड स्याक्सका अनुसार एन्थ्रोपिकका सीईओ डारियो अमोदेईले सुरक्षा समस्या समाधान गर्न अस्वीकार गरेपछि निर्यात नियन्त्रण लागू गरिएको हो । उनले सामाजिक सञ्जालमा लेख्दै प्रशासनको अपेक्षा एन्थ्रोपिकले सुरक्षा समस्या समाधान गरोस् र मोडेल पुनः सार्वजनिक होस् भन्ने बताएका छन् ।
कतिपय विज्ञहरूले यो कदमलाई अचम्मको रूपमा लिएका छन्, किनकि यसले प्रतिद्वन्द्वी राष्ट्र मात्र होइन, मित्र राष्ट्रहरूलाई समेत असर पार्ने देखिन्छ । युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धानकर्ता जिमी गुडरिचका अनुसार यस्तो निर्णयले अन्तर्राष्ट्रिय अनुसन्धान र विकास प्रक्रियामा समेत बाधा पुर्याउन सक्छ ।
अमेरिका सरकार, ठूला प्रविधि कम्पनी र एआई स्टार्टअपबीच सुरक्षा र नियमनबारे बढ्दो तनावका बीच एन्थ्रोपिकको यो निर्णयलाई एआई उद्योगमै महत्वपूर्ण मोडका रूपमा हेरिएको छ ।
